अर्जेन्टिनाको जितको कामना गर्दै मेस्सीको ग्रह शान्ति पूजा


तरुण पत्रिका

३ पुष २०७९, आईतवार ०९:००

काठमाडौं। कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा अर्जेन्टिनाको जितको कामना गर्दै एक नेपाली युवकले पूजापाठ गरेका छन्।

ती युवाले आफ्नै घरमा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीको नाममा ग्रह शान्ति पूजा गरेका हुन्।

शनिवार मकवानपुरको हेटौँडा-११ नवलपुरका सागर घिमिरेले आफ्नै घरमा अर्जेन्टिनाको जितको लागि पूजा गरेका हुन्।

उनले समय चक्रमा ग्रहहरूका कारण गर्न खोजेका काममा वाधा–अड्चनहरू आउने र सोचेको कामहरू नबन्ने भएकाले ग्रह पूजा गरेको बताए।

मेस्सीलाई विश्वकप जित्न ग्रहहरूले वाधा–अड्चन नपुर्‍याओस् भन्ने उद्देश्यले ग्रह शान्ति पूजा गरेको घिमिरेले बताए।

आज आइतबार राति ८ः४५ बजेबाट कतार विश्वकपको फाइनल खेल हुँदैछ। उपाधिको लागि अर्जेन्टिना र फ्रान्स भिड्दै छन्। अर्जेन्टिना र फ्रान्स दुवैले दुई/दुई पटक विश्वकपको उपाधि जितिसकेका छन्।

यसअघि सन् २०१८ मा रुसमा भएको विश्वकपको उपाधि पनि फ्रान्सले जितेको थियो। फ्रान्स लगातार दोस्रो पटक विश्वकपको उपाधि हात पार्ने योजनामा छ भने अर्जेन्टिना फ्रान्सलाई रोक्दै ३६ वर्षपछि विश्वकपको उपाधि हात पार्ने दाउमा छ।

अर्जेन्टिनाले १९८६ पछिको विश्वकपको उपाधि हात पार्न सकेको छैन। अर्जेन्टिना यसअघि ब्राजिलमा सन् २०१४ मा भएको विश्वकपको फाइनलमा पुगेर जर्मनीसँग पराजित भएको थियो।

Tags :

प्रकाशित: ३ पुष २०७९, आईतवार ०९:००