कांग्रेसमा संसदीय दलको नेता बन्न देउवालाई कति भारी पर्लान गगन ?


तरुण पत्रिका

३ पुष २०७९, आईतवार १३:४३

काठमाडौं। सरकार गठनको तयारी अगाडि बढाएको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसमा संसदीय दलको नेता चयन गर्नेबारे छलफल सुरू भएको छ। आज दिउँसो ३ बजे बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट दलको नेता चयनको तयारी गर्ने जनाइरहेको छ।
नेताहरूकाअनुसार आइतबारको बैठकले संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति गठन गर्नेछ। संसदीय दलका नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्न पाउने भएकाले को बन्छ भन्ने चासो देखिएको छ।

निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम बुझाइसकेको छ। समानुपातिकबाट निर्वाचित सांसदहरूले प्रमाण पत्र दिँदैछ। पत्र पाएपछि सांसदहरूको शपथग्रहण गर्न केही दिन लाग्नेछ। लगतै संसदीय दलको नेता चयनको प्रक्रिया अघि बढ्ने प्रवक्ता डा प्रकाशशरण महतले बताए।

निर्वाचन परिणाम सार्वजनिक भइसकेपछि अब नयाँ सरकार गठनको प्रयास छ। कांग्रेसले सरकार गठनका लागि गठबन्धनभित्र शक्ति बाँडफाँट हुनुभन्दा पहिल्यै संसदीय दलको नेता चयन गर्ने तयारी गरेको हो।

यसपटक कांग्रेसबाट प्रत्यक्षतर्फ ५७ र समानुपातिकबाट ३२ गरी ८९ सदस्य निर्वाचित भएका छन्।

संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा आफैँ आकांक्षी छन्। महामन्त्री गगन थापाले चुनावअघि नै दलको नेतामा प्रतिस्पर्धा गर्ने घोषणा गरेका थिए।

उनी पनि दलको नेता बन्ने लबिङमा छन्। संस्थापन इतर पक्षबाट नेता रामचन्द्र पौडेल र शेखर कोइराला पनि दलको नेताका आकांक्षी छन्। तर, पौडेल र कोइरालाले भने दलको नेतामा चुनाव लड्ने वा नलड्ने भनेर प्रस्ट बोलिसकेका छैनन्। सस्थापनइतर समूहले नेता कोइरालालाई दलको नेतामा चुनाब लड्न दबाव दिइरहेका छन्।

निर्वाचन आयोगले चुनावको परिणामसहितको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाएपछि नयाँ सरकार गठनको बाटो खुलिसकेको छ। सत्तागठबन्धन र विपक्षी एमाले गरी दुवै गठबन्धनले सरकार गठनको गृहकार्य थालिसकेका छन्।

कांग्रेस नेताहरूले भने संसदीय दलको नेता चयन भएपछि मात्रै सरकार गठनको प्रक्रिया अघि बढ्ने दाबी गरेका छन्।
यद्यपि कंग्रेसमा सभापति देउवाले महामन्त्री थापालाई रोक्न चाहेको बताइन्छ। तर प्रत्यक्ष र समानुपातिक सांसद भएकाहरू संस्थापक्ष पक्षकै धेरै रहेका बताइन्छ।

Tags :

प्रकाशित: ३ पुष २०७९, आईतवार १३:४३