काठमाडौं। नेकपा एमालका पोलिटब्यूरो सदस्य महेश बस्नेतले वाम सरकार गठनको पहल थालेका छन्।
कांग्रेसले राष्ट्रपति पनि कम्युनिष्टलाई दिन अनिच्छा देखाइरहेका बेला एमाले र माओवादीलाई फेरि मिलाउन दोस्रो तहका नेताहरू सक्रिय भएका हुन्।
बस्नेतले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृतका अध्यक्ष माधवकुमार नेपाललाई समेत भेटेर वाम सरकार गठनको आग्रह गरेका छन्।
एमाले केन्द्रीय सदस्य सञ्जीवकुमार झासहित शीर्ष नेताहरूलाई भेटेका बस्नेतले वाम सरकार गठनको पहल गर्न सुझाव दिएका हुन्।
बस्नेत प्रतिनिधिसभामा झिनो मतले पराजित भएका थिए। अध्यक्ष केपी शर्मा ओलीनिकट नेता बस्नेतले प्रचण्ड र माधव नेपाललाई भेट गरेका कारण नेतृत्वको अनुमति लिएरै छलफल भएको स्रोतको दाबी छ।
२०६४ सालपछि पहिलोपटक संसदमा वामपन्थीले बहुमत गुमाएका छन्। देशलाई अस्थिरता र विदेशी चलखेलबाट जोगाउन वाम नेतृत्वको सरकार गठन होस् भनेर आफूले आफ्नो ठाउँबाट सामान्य पहल गरेको बस्नेतले बताएका छन् ।
प्रचण्ड र माधव नेपालले वाम नेतृत्वको सरकार गठनबारे सकारात्मक प्रतिक्रिया दिएका छन्।
बस्नेतले शीर्ष नेताहरूलाई भेटेपछि माओवादी केन्द्रका महासचिव देव गुरुङले एमाले अध्यक्ष ओलीलाई भेट गरेका थिए। माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाइदिएर भने पनि वाम नेतृत्वको सरकार गठन गर्ने राष्ट्रपति, सभामुखजस्ता मुख्य पदहरू एमालेले लिएर सरकार गठन गर्ने दाबी नेताहरुले गरिरहेका छन्।
एमालेले अहिलेसम्म सरकार गठनको पहल गरेको छैन।
प्रकाशित: ३ पुष २०७९, आईतवार १४:१७