फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले उचाल्यो विश्वकप फुटबलको उपाधि


तरुण पत्रिका

४ पुष २०७९, सोमबार ००:०९

काठमाडौं। साविक बिजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वकप फुटबलको उपाधि जितेको छ।

फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी बन्यो।

सन् १९८६ पछि अर्जेन्टिनाले पहिलोपटक विश्वकपको उपाधि जितेको हो। त्यसअघि सन् १९७८ मा अर्जेन्टिनाले आफ्नो घरेलु मैदानमा उपाधि जितेको थियो।

लुसेल स्टेडियममा भएको १२० मिनेटको रोमाञ्चक खेलपछि दुवै टोली ३–३ को बराबरीमा रोकिएका थिए। पहिलो हाफमा लियोनेल मेस्सी र एंखल डि मारियाको गोलको मद्दतले अर्जेन्टिनाले २ गोलको अग्रता बनाएको थियो । तर, किलियान एम्बाप्पेले दोस्रो हाफमा दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेल २–२ को बराबरी गरे।

निर्धारित ९० मिनेटमा बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा १०८ औँ मिनेटमा मेस्सीले पुनः अर्जेन्टिनालाई अग्रता दिलाए पनि एम्बाप्पेले पेनाल्टीमार्फत ह्याट्रिक गर्दै खेल ३–३ को बराबरीमा पुर्‍याएका थिए। त्यसपछि कुनै गोल हुनसकेन र खेल पेनाल्टीमा पुगेको थियो।

Tags :

प्रकाशित: ४ पुष २०७९, सोमबार ००:०९