स्थानीय सरकारले आफ्नो काम पारदर्शी, प्रविधिमैत्री बनाउँदै अघि बढ्नुपर्छ : देउवा


तरुण पत्रिका

४ पुष २०७९, सोमबार १३:०२

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकारले आफ्नो काम कारबाहीलाई थप चुस्त, पारदर्शी, प्रविधिमैत्री बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

सोमबार नेपाल नगरपालिका संघको ८ औं राष्ट्रिय अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री देउवाले जनताको अपेक्षा र आवश्यकतालाई उचित सम्बोधन हुने गरी स्थानीय श्रोत, साधनको समुचित परिचालन गर्दै स्थानीय जनप्रतिनिधिको जनताप्रतिको आफ्नो दायित्व र जवाफदेहीतालाई कुशलताका साथ निर्वाह गर्नुपर्ने बताए ।

उनले स्थानीय तहको सम्भाव्य श्रोतको पहिचान र उचित परिचालन गरी स्थानीय तहलाई क्रमशः आत्मनिर्भर संस्थाको रुपमा विकास गर्दै लैजानु आवश्यक रहेको बताए । प्रधानमन्त्री देउवाले स्थानीय सरकारले गरेका काम र प्रदान गरेका सेवाको आधारमा जनताले सरकारप्रतिको धारणा निर्माण गर्ने भएकाले नगरपालिकाहरुले जनताको विश्वास र मन जित्नेगरी काम गर्न सक्नुपर्ने बताए।

उनले जनताको काम बिना झन्झट, छिटो, छरितो रुपमा सम्पन्न गरी आम नागरिकमा सुशासनको प्रत्याभूति गराउन सबै नगरपालिका प्रतिवद्ध हुन आवश्यक रहेको पनि बताए।

प्रधानमन्त्री देउवाले मुलुकको आधुनिकीकरण र दिगो विकासका लागि सुव्यवस्थित नगरपूर्वाधार सेवाहरु, योजनावद्ध आवास, सुन्दर बाटोघाटो, स्वच्छ खानेपानी, ढल, पुलपुलैसा, हरियाली क्षेत्र र सरसफाई आदिको समुचित प्रबन्ध गर्न आवश्यक रहेको बताए।

उनले मुलुकको अधिकांश नगरपालिकाहरु अव्यवस्थित शहरीकरणबाट गुज्रिँदा नगरको प्रकृति, सौन्दर्य र मौलिकतामा आघात पुगिरहेको र शहरहरू दिनानुदिन असुरक्षित र अस्वच्छ आवास क्षेत्रको रुपमा परिणत भइरहेको बताए।

देउवाले काठमाडौं लगायत सबै नगरहरुलाई दिगो र वातावरणमैत्री विकासको अवधारणाबाट अघि बढाउन आवश्यक रहेको पनि बताए।

प्रधानमन्त्री देउवाले वातावरणमैत्री शहरको अवधारणाअनुसार दिगो विकासको मोडेल अवलम्वन गर्न सुझाव दिए।

प्रधानमन्त्री देउवाले नगरपालिकाले नगरसम्बन्धी कानुन बनाउने र नगरको समग्र समस्या संघ र प्रदेशलाई उजागर गराइ रचनात्मक समारोहको बाटो पहिल्याउन आवश्यक रहेको बताए ।

Tags :

प्रकाशित: ४ पुष २०७९, सोमबार १३:०२