काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको चुनावको पूर्वसन्ध्यामा कांग्रेस संस्थापन इतर पक्षका उम्मेदवार गगन थापाको निगरानीमा प्रहरीले प्रहरी उपरिक्षकको कमाण्डमा प्रहरी परिचालन गरेको थाहा भएको छ।
गृहमन्त्री बालकृष्ण खाँणको आदेशमा प्रहरी महानिरिषक धिरज प्रताप सिंहले एक सय प्रहरी परिचालित गराएको बुझिएको छ।
एक प्रहरी अधिकारीका अनुसार कांग्रेस महामन्त्री समेत रहेका थापा बैठकका लागि गएको लाजिम्पाटस्थित एक होटलमा मंगलबार राति निरन्तर निगरानी गरिरहेको शंका लागेपछि समर्थकले दुई जना व्यक्तिलाई घेरेका थिए।
त्यसक्रममा दुवै जनाको साथमा नेपाल प्रहरीको परिचय पत्र भेटिएको थापाका समर्थकहरुले बताएका छन्। तीमध्ये एक जनाको साथमा नेपाल प्रहरीको कर्मचारी प्रशासन शाखाको परिचय पत्र भेटिएको थापाका सहयोगी सबिन मुडभरीले बताए। तीमध्ये एकजना जवान र अर्का प्रहरी नायब निरीक्षक भएको खुलेको छ। दुबै जनाको नाम र पद खुलेको छ।
थापालाई उनको गतिबिधी हेर्न प्रहरी मोटरसाईकलमा खटाइएको र कांग्रेसका नेता तथा साँसदको घरमा समेत सुराकी गरेको थाहा भएकोछ।
महामन्त्री गगन थापाले नेता डा शशांक कोइरालालाई भेट्न उनकै निवास पुग्दा प्रहरीको सुराकीले बाटोमा अल्मल्याएको समेत थाहा भएको छ। लाजिम्पाटमा थापा समर्थकले दुई जनालाई घेरा हालेपछि अन्य केही व्यक्तिहरु भागेको बताइएको छ।
थापा सर्मथकले घेरा हालेका प्रहरी जवान आहिस क्षेत्री र प्रहरी नायव निरिक्षक सरोज भण्डारी प्रहरीको जिम्मा लगाएका छन्। नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले घटनाबारे आफूहरुलाई केही थाहा नभएको बताएका छन्।
कांग्रेस संसदीय दलको नेता चयन गर्न बुधबार चुनाव हुँदैछ। संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा र इतर पक्षबाट महामन्त्री गगन थापा उम्मेदवार छन्।
प्रकाशित: ६ पुष २०७९, बुधबार ००:२०