काठमाडौं। नेपाली कांग्रेसको अहिले सम्पन्न संसदीय दलको निर्वाचनमा केही सांसदहरूले विधिविपरीत आफूले मत हालेपछि मतपत्रको तस्बिर खिचेका छन्।
यसरी फोटो खिच्ने कम्तीमा ९ जना सांसदहरू संस्थापन अर्थात् देउवा पक्षका हुन्।
कुनै पनि गोप्य मतदानमा मतदानपछि मतपत्रको फोटो खिच्न पाइँदैन। कांग्रेसको संस्थापनले भने आफ्नै पक्षका सांसदहरूमाथि पनि अविश्वास भएकाले फोटो खिच्ने लगाएको पाइयो।
प्रधानमन्त्री पत्नी आरजू राणा र गृहमन्त्री पत्नी मञ्जु खाँडको निगरानीमा ९ जना सांसदहरूले मतपत्रको फोटो खिचेको पाइएको छ। आफूले देउवालाई नै मत हालेको प्रमाण देखाउनका लागि उनीहरूले फोटो खिचेका हुन्।
यसरी फोटो खिचिएको विषयमा संस्थापन इतरका उम्मेदवार गगन थापाले आपत्ति जनाएका छन्। उनले फोटो खिच्नेहरूलाई सामाजिक सञ्जालमा पोस्ट गर्न चुनौती पनि दिए।
गगनका अनुसार उनले निर्वाचन समितिलाई मतदान स्थलमा मोबाइल लैजान नपाउने नियम बनाउनुपर्छ भनेर सुझाव दिएका थिए। तर, उनीहरूले मानेनन्।
‘उहाँहरूले भन्नुभयो कि सांसदजस्तो मान्छेलाई मोबाइल बाहिरै राख्न भन्नु सम्मानजनक नहोला। हामीले पनि पार्टीको आन्तरिक निर्वाचन भएकाले यसलाई ठूलो विषय बनाएनौैं,’ गगनले भने।
तर मतदानका क्रममा आफ्नै आँखा अगाडि १०/११ जना सांसदले मतपत्रको फोटो खिचेको उनको दाबी छ। गगनले भने, ‘हेर्दाहेर्दै केही सिनियर नेताहरू अरूलाई कुरेको भनेर छेउमा आएर बस्नुभयो। मेरै आँखा अगाडि हामीले कराउँदा कराउँदै १०/११ जनाले मोबाइल निकालेर तस्बिर खिच्नुभयो। अन्तर पार्टी लोकतन्त्रको सुखद अभ्यासमा यो लाजमर्दो कुरा हो।’
उनले थपे, ‘यो सांसदहरू आफैँले बुझ्नुपर्ने कुरा थियो। अब तस्बिर खिचिसकेपछि यसलाई सार्वजनिक गर्ने पनि हिम्मत राख्नुपर्यो नि। मेरो सुझाव छ, आज बेलुका आफ्नो सामाजिक सञ्जालमा फोटो पोस्ट गरेर देखाइदिनुस्। फोटो खिचेर लगेर कसैलाई देखाउनुभन्दा सांसद साथीहरूले सामाजिक सञ्जालमा नै राखिदिनु उचित हुन्छ।’
प्रकाशित: ६ पुष २०७९, बुधबार १०:३४