गगन थापाले विजयी उम्मेदवार शेरबहादुर देउवालाई दिए बधाई



काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको चुनावमा पराजित भएका गगन थापाले विजयी उम्मेदवार शेरबहादुर देउवालाई बधाई दिएका छन् । निर्वाचन परिणामपछि सञ्चारकर्मीहरूलाई पहिलो प्रतिक्रिया दिँदै उनले अघिल्ला कार्यकालभन्दा फरक काम गरेर देखाउन देउवालाई शुभेच्छा थिए । चुनावी परिणामलाई स्वाभाविकरूपमा लिएको गगनले बताए । बहुसंख्यकले पार्टीमा यथास्थितिलाई नै रुचाएको कुरालाई सहजतापूर्वक नै लिएको उनको भनाइ छ । सांसदहरूले गोप्य मतदानमा मतपत्रको फोटो खिचेको कुरामा भने उनले असन्तुष्टि जनाएका छन् । यो कुरा चाहीँ अलिकति दुस्खद लाग्यो । यसले निर्वाचनको पवित्रता र संसदमा गरिमामा खोट लागेको छ,’ उनले भने । आफूलाई भोट नहाल्ने साथीहरूको मन जित्ने लगातार प्रयास गर्ने गगनले उल्लेख गरे ।

केही समयपछि फेरि निर्वाचन हुने र आफूले जित्ने आशा उनले व्यक्त गरे । पाँच वर्षको संसदीय कार्यकालको यो प्रारम्भमात्र हो । केही समयपछि फेरि निर्वाचन हुन्छ । फेरि प्रतिस्पर्धा हुन्छ । नयाँ परिणामको अपेक्षा हुन्छ । त्यो बेलासम्म थप सांसद साथीहरूको मन जित्न निरन्तर प्रयास गर्छु,’ उनले भने । गगनले थपे, ‘यो मेरो लागि अपेक्षाकृत होइन । तर, म यो परिणामबाट निराश हुन्न । थप मिहिनेत गर्छु । किन संसदीय दलको नेता परिवर्तन हुनुपर्छ भन्ने कुरा निरन्तर लगिराख्छु । कुनै एउटा समय आउँछ बहुसंख्यक साथीहरूले यसलाई महसुस गर्नुहुन्छ । त्यो बेलामा सुखद परिणामको आशा छ ।

प्रकाशित: ६ पुष २०७९, बुधबार ११:३४