काठमाडौं। प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।
नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ।
सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथग्रहण गराउने व्यवस्था छ। ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउने प्रावधान छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबरालाई बुधबार पद तथा गोपनीयताको शपथ गराएकी थिइन्।
प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ।
प्रकाशित: ७ पुष २०७९, बिहीबार १४:०३