१९ वर्षपछि शोभराज जेलमुक्त, फेरि कारागार पठाउने तयारी



काठमाडौं। ‘बिकिनी किलर’का रुपमा कुख्यात फ्रान्सेली नागरिक चार्ल्स शोभराज केन्द्रीय कारागारबाट रिहा भएका छन्।

१९ वर्ष २ महिनासम्म नेपाली जेलमा कैद रहेका शोभराज शुक्रबार रिहा भएका हुन्।

सर्वोच्च अदालतले बुधबार जारी गरेको आदेशानुसार केन्द्रीय कारागार सुन्धाराले शोभराजलाई थुनामुक्त गरेको हो। उनलाई अध्यागमन विभागको जिम्मा लगाइएको छ।

सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै शोभराजलाई जेलमुक्त गर्न आदेश दिएको थियो।

सर्वोच्चले शोभराजलाई जेलमुक्त गरी १५ दिनभित्र स्वदेश (फ्रान्स) पठाउन समेत सरकारका नाममा आदेश जारी गरेको थियो।

सर्वोच्चको आदेशानुसार शोभराजलाई फ्रान्स डिपोर्ट गर्ने तयारी गरिएको अध्यागमन विभागका एक अधिकारीले जानकारी दिएका छन्। यद्यपि शोभराजले भने केही समय नेपालमै बिताउने इच्छा जाहेर गरेका छन्।

अध्यागमन विभागले आवश्यक कागजपत्र तयार पार्नुपर्ने भन्दै उनलाई पुनः कारागारमै पठाउने तयारी गरिरहेको स्रोतले बताएको छ।

भिसा लगायतका कागजात तयार नभएसम्म शाेभराजलाई थुनामै राख्नुपर्ने अध्यागमनका एक अधिकारीले बताए।

आफूलाई शोभराजकी श्रीमती बताउने निहिता विश्वासले शोभराजले फ्रान्स फर्किने चाहना राखेको पत्रकारहरूसँग बताएकी थिइन्।

Tags :

प्रकाशित: ८ पुष २०७९, शुक्रबार १३:५५