काठमाडौं। सर्वोच्च अदालतको आदेशमा जेलमुक्त भएका कुख्यात सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराजले उनकी प्रेमिका निहिता विश्वास र उनकी आमा अधिवक्ता सकुन्तला थापालाई भेट्न अस्वीकार गरेका छन् । शुक्रबार केन्द्रीय कारागार सुन्धाराबाट अध्यागमन विभागमा लगिएका उनलाई भेट्न पुगेका आमाछोरीलाई उनले भेट्न अस्वीकार गरेका हुन् ।
शोभराजले कानुन व्यवसायीलाई भेट्न भित्र बोलाए पनि निहिता र उनकी आमासँग भने भेट्न अस्वीकार गरेका छन् । यता, निहिता र उनकी आमा भने प्रहरीले भेट्न नदिएको भन्दै आक्रोशित भएका छन् ।
यसैबीच, अध्यागमनले आफ्नो तर्फबाट गर्ने सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेको बताएको छ । नेपालस्थित फ्रान्सेली दूतावासले गर्ने काम मात्रै बाँकी रहेको अध्यागमन स्रोतले बताएको छ ।
शोभराजले आफू आजै स्वदेश फर्किन चाहेको बताएका छन् । उनले कागजी प्रक्रिया पूरा गरिदिन माग गर्दै आजै फ्रान्स फर्किन चाहेको बताएका छन् ।
प्रकाशित: ८ पुष २०७९, शुक्रबार १६:४९