सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय भोलि सकिँदै, पहिले प्रधानमन्त्री को बन्ने भन्नेमै जुटेको छैन सहमति



काठमाडौं। नयाँ सरकार गठन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई दिएको समय भोलि (पुस १० गते) साँझ सकिँदै छ।

भण्डारीले गत आइतबार (पुस ३) साँझ ७ दिनभित्र संसदमा रहेका दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न आह्वान गरेकी थिइन्।

समय सीमा कट्न आजसमेत २ दिन मात्र बाँकी रहँदा सरकार गठनमा दलहरूले सहमति जुटाउन सकेका छैनन्। राष्ट्रपतिले दिएको समयसीमाअनुसार दलहरूले पुस १० गते साँझ ५ बजेभित्र सरकार गठनका लागि आवश्यक बहुमत जुटाउनुपर्ने हुन्छ।

राष्ट्रपति कार्यालयको सूचनामा भनिएको छ, ‘प्रधानमन्त्री नियुक्त गर्नको लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति २०७९/९/१० गते आइतबार १७ः०० बजेभित्र दाबी पेस गर्न सम्माननीय राष्ट्रपतिज्यूबाट आह्वान भएको बेहोरो अनुरोध छ।’

वर्तमान सत्ता गठबन्धनकै दल मिलेर नयाँ सरकार गठन गर्ने कुरा भइरहे पनि कसले नेतृत्व गर्ने भन्ने विषयमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच सहमति हुन सकेको छैन। दुवैले आफ्नै नेतृत्वमा सरकार गठन हुनुपर्ने दाबी गरिरहेका छन्।

सत्ता गठबन्धनको तर्फबाट पहिलो सरकारको नेतृत्व कसले गर्ने? सहमति अझै हुन सकेको छैन।

माओवादी केन्द्रले पहिलो सरकारको नेतृत्व आफुले पाउनुपर्ने अडानबाट पछि हट्न नसक्ने बताएको छ। यस्तै काङ्ग्रेस पार्टीभित्रको सन्तुलन मिलाउन पनि पहिलो नेतृत्व आफैं गर्ने प्रस्तावबाट पछि हट्न मानेको छैन।

सरकारको नेतृत्वकै विषयमा काङ्ग्रेस-माओवादी टसमस नभएपछि शुक्रवार गठबन्धनको बैठक नै बस्न सकेन।

यद्यपि शुक्रबार बेलुका प्रधानमन्त्री एवम् काङ्ग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा एक घण्टा छलफल भएको थियो।

तर काङ्ग्रेसले आफ्नो दाबी कायम राखेपछि मिल्ने सम्भावना कमजोर हुँदै गएको माओवादी निष्कर्ष छ।

बालुवाटारमा देउवासँग भेटेलगत्तै प्रचण्डको सम्पर्कमा पुगेका एक नेताले बताएअनुसार -‘काङ्ग्रेस पूर्व सहमति भत्काउन खोज्दैछ। त्यसमा सभापति देउवानिकट नेता नै सक्रिय भएका छन्।’

चुनावपछिको पहिलो सरकारको नेतृत्व आफूले गर्ने पूर्वसहमति भएको ती नेताले दाबी गरे।

तर, शुक्रबार बालुवाटारको बैठकमा प्रधानमन्त्री देउवाले मिलाउने गरि निर्णय गर्न नचाहेको एक नेताले बताए।

‘सभापति देउवाजीले आज पनि साथीहरुसँग सल्लाह गर्दैछु भन्ने जवाफ दिएर पन्छिन खोज्नुभएछ,’ ती नेताले भने, ‘हिजो र आजको उहाँको भ्वाइसमा कुनै परिवर्तन आएको देखिएन। काङ्ग्रेसका केही नेताको कुरामा देउवाजी पर्नु भएको जस्तो लाग्यो, उहाँलाई उचालेर पूर्वसहमति भाड्ने प्रयास हुँदैछ, काङ्ग्रेस विगतको समझदारीबाट पछि हट्न खोज्यो।’

गठबन्धन बनाउँदै गर्दा चुनावपछिको पहिलो सरकारको नेतृत्व माओवादीले गर्ने समझदारी बनेको ती नेता ठोकुवा गर्छन्।
‘गठबन्धन निर्माण हुँदै बनेको समझदारी कार्यान्वयन गर्न अझै आनाकानी भइरहेछ,’ ती नेताले थपे, ‘तर, प्रधानमन्त्री पार्टीलाई विश्वासमा लिएर गर्छु, पार्टीमा सल्लाह गर्छु भनेर टारिरहेका छन्।’

राष्ट्रपतिले दिएको समयसीमाअगाडि नै सहमति बन्ने अवस्था नभए परिस्थिति अर्कै हुने र त्यसले गठबन्धनलाई असर पर्ने माओवादी विश्लेषण छ।

‘माओवादीले यही गठबन्धनलाई अगाडि बढाउन चाहे पनि काङ्ग्रेसले निर्धारित समयमा निर्णय गर्न नचाहे अन्य विकल्पतिर जानुपर्छ,’ ती नेताले थपे, ‘काङ्ग्रेसबाट धोका नहुने अपेक्षा लिएका छौँ, धोका भए त्यसको परिणामले कसैलाई राम्रो गर्दैन।’

कांग्रेससँग लागेर प्रधानमन्त्री नपाउने अवस्थामा एमालेसँग मिलेर पनि सरकारको नेतृत्व गर्ने योजनामा प्रचन्ड छन्।

ओलीले पनि प्रचण्डलाई प्रधानमन्त्रीको कार्ड फ्याकिसकेका छन्। प्रचण्डसँग ओलीले सत्ता सहयात्राको प्रस्ताव राखिसकेका छन्।

बुधबार र बिहीबार ओलीले प्रचण्डलाई गठबन्धन छोडेर आए सहकार्य गर्न तयार रहेको बताएका हुन्।

ओलीको प्रस्तावमा प्रचण्ड निश्चिन्त हुन सकेका छैनन्। तर ओलीले गठबन्धन छाडे अहिले नै प्रधानमन्त्री दिने वचन दिएका छन्।

सरकार गठनबारे छलफल गर्न गठबन्धनको बैठक आज पनि बस्ने नेताहरुले बताएका छन्।

Tags :

प्रकाशित: ९ पुष २०७९, शनिबार ०९:३१