काठमाडौं। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्ता गठबन्धनमा रहेका दलहरुका नेतृत्वसँग नयाँ सरकार गठनबारे छुट्टाछुट्टै छलफल गरेका छन्।
उनले शनिबार बिहान नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको नेतृत्वसँग नयाँ सरकार गठनबारे छुट्टाछुट्टै छलफल गरेका हुन्।
उपसभापति खड्काले खुमलटार पुगेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कोटेश्वर पुगेर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेट गरेको जानकारी दिए।
‘प्रचण्डजी र माधवजीसँग बिहान भेटेर आएको हुँ। रामचन्द्रजीले पनि प्रचण्डजीसँग भेट्नुभएको छ,’ खड्काले भने, ‘हामी गठबन्धन जोगाउन एकमत छौं। ४ बजे गठबन्धनको बैठक बस्दै छ। एउटा समझदारी बनाउँछौं।’
उनले दलहरुबीच छलफल भइरहेको र छलफलमा ठूलो माग कसैको नभएको पनि बताए। ‘छलफल भइरहेको छ। ठूलो माग कसैको पनि छैन,’ उपसभापति खड्काले भने, ‘मिलाउनुपर्छ। हामी मिलाउँछौं।’
सत्तारुढ गठबन्धन दलबीच बहुमत जुटाएर प्रधानमन्त्रीमा दाबी गर्न छलफल जारी रहे पनि नयाँ सरकारको नेतृत्वबारे कांग्रेस र माओवादी बीच कुरा मिलेको छैन।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई नयाँ सरकार गठनका लागि आइतबार बेलुकी ५ बजेसम्मको समय दिएकी छन्।
सत्ता गठबन्धनको बैठकअघि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास पुगेका छन्।
वर्तमान सत्ता गठबन्धनको नेतृत्वमा सरकार गठन भए पहिलो ‘लट’मा आफूले प्रधानमन्त्री पद पाउनुपर्ने अडानमा देखिएका प्रचण्डसँग छलफल गर्न कांग्रेस वरिष्ठ नेता पौडेल शनिबार बिहान खुमलटार पुगेका हुन्।
प्रकाशित: ९ पुष २०७९, शनिबार १६:४४