काठमाडौं। सत्ता गठबन्धनको बैठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच ‘वान टु वान’ वार्ता हुने भएको छ।
केहीबेरपछि सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। त्यसअघि प्रचण्ड र देउवाबीच ‘वान टु वान’ वार्ता हुन लागेको हो।
स्रोतका अुनसार निर्णायक मानिएको छलफलका लागि प्रचण्ड बालुवाटार पुगिसकेका छन्। ‘पहिला प्रचण्ड र देउवाबीच वान टु वान वार्ता हुनेछ,’ स्रोतले भन्यो, ‘त्यसपछि एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित तीन नेताहरु बसेर टुंगोमा पुग्ने तयारी छ।’
देउवा, प्रचण्ड र नेपालबीचको छलफलपछि सत्ता गठबन्धनको बैठक बस्ने छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि बहुमत सांसदसहित उपस्थित हुनका लागि आज (आइतबार) साँझ ५ बजेसम्मको समय दिएकी छिन्।
उक्त समयसीमाअघि नै सहमति गर्न नेताहरु दौडधुप गरिरहेका छन्। देउवासँग प्रचण्डको संवादअघि कांग्रेसका शीर्ष नेताहरु बालुवाटारमा भेला भएर छलफल गरेका थिए।
बालुवाटार जानू अघि प्रचन्डले पनि माओवादीका नेताहरुसँग खुमलटारमा छलफल गरेका थिए।
प्रकाशित: १० पुष २०७९, आईतवार १०:१५