रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री बन्ने भएका छन्।

उनी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्न लागेका हुन्।

प्रचण्ड नेतृत्वको सरकारमा एमाले उपाध्यक्ष विष्णु पौडेल र माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि उपप्रधानमन्त्री बन्दैछन्।

लामिछानेले सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा आफ्नो दाबी उपप्रधान र गृहमन्त्रालयमा रहेको बताएका थिए।

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा लामिछानेले आफूले गृहमा दाबी गरेको बताएका थिए।

‘मेरो दाबी उपप्रधानसहित गृहमा हो, यसबारे निर्णय गर्ने अधिकार प्रधानमन्त्रीलाई दिएका छौँ,’ उनले भनेका थिए।

चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित उनी नेतृत्वको रास्वपाले प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिक गरी २० सांसद जितेको छ।

सात दलीय सत्ता गठबन्धनमा रास्वपा तेस्रो ठूलो दल हो। माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री बन्ने भएपछि लामिछानेले गृहमन्त्रालय पाउने भएका हुन्।

मंसिर ४ मा विजयी भएदेखि नै उनी सरकारमा जान तम्तयार देखिन्थे। रास्वपाले पनि सरकारमा जाने नजाने निर्णय लिने जिम्मेवारी उनैलाई दिएको थियो।

प्रकाशित: ११ पुष २०७९, सोमबार १५:५५