काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक विशेष समारोहका बीच प्रचण्डले जनताको नाममा शपथ लिएका हुन्।
प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ दिलाएकी थिइन्। राष्ट्रपति भण्डारीले प्रचण्डलाई आइतबार नै संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।
संसदमा एमालेको ७८, माओवादीको ३२, रास्वपाको २०, राप्रपाको १४, जनमतको ६, नागरिक उन्मुक्ति पार्टीको ४ र जसपाको १२ सांसद रहेका छन्। उनीहरुको प्रधानमन्त्री प्रचण्डलाई समर्थन रहेको छ।
त्यस्तै स्वतन्त्र सांसदहरु प्रभु शाह, अमरेश कुमार सिंह र किरणकुमार साहको पनि प्रचण्डलाई समर्थन रहेको छ। प्रचण्ड तेस्रो पटक गणतान्त्रिक नेपालको प्रधानमन्त्री बनेका हुन्।
कांग्रेस नेतृत्वको गठबन्धनमा भागबण्डाको सहमति नभएपछि एमालेसहित ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन् ।
प्रकाशित: ११ पुष २०७९, सोमबार १६:२६