गठबन्धन जोगाउन नसकेपछि चौतर्फी घेराबन्दीमा देउवा



काठमाडौं । गठबन्धन जोगाउन नसक्दा नेपाली कांग्रेसलाई निक्कै ठूलो वेफाइदा भएको भन्दै पार्टीभित्र असन्तुष्टि तीव्र भएको छ ।
पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाप्रति असन्तुष्टि जनाउनेले कांग्रेस सभापति र संसदीय दलको नेताबाट राजीनामा दिनु पर्ने अन्यथा विशेष महाधिवेशन बोलाएर हटाउन सकिनेसम्मको धम्की दिएका छन् ।

कांग्रेसका युवा नेता गुरुराज घिमिरेले ट्वीट गरेका छन्–‘नेकां सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउबाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनु पर्दछ । हिजो पार्टीका साथीले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ । राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइने छ ।’

नेता घिमिरेका यो भनाई शेखर–गगन समूहको रणनीतिक सोच हो कि घिमिरेको निजी आक्रोश ? प्रष्ट छैन । देउवा इतर गुटका अधिकांश नेताले पछिल्लो राजनीतिक अवस्थाबारे निराशा व्यक्त गरेका छन् ।
संसदीय दलको निर्वाचनमा देउवाका समर्थक बनेका बरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन टुट्नमा माओवादी अध्यक्ष प्रचण्डको भन्दा कांग्रेस सभापति देउवाकै बढी दोष र अर्घेलो रहेको सार्वजनिक अभिव्यक्ति दिएका छन् । पौडेलले भनेका छन्–‘ प्रचण्डलाई प्रधानमन्त्री दिने चुनाव अघिकै आन्तरिक सहमति थियो । देउवाबाट धोका खाएपछि प्रचण्डले यस्तो निर्णय गरे ।’
उनले गठबन्धन टुट्दा कांग्रेसको हातबाट सबै चिज गुमेको गुनासो समेत गरेका छन् ।
अर्का नेता अर्जुन नरसिंह केसीले पनि यसको दोष पार्टी सभापति देउवामाथि थोपरेका छन् । उनको ट्वीटमा भनिएको छ–‘म नै पार्टी, म नै राज्य हुँ भन्ने अहंकार, स्वकेन्द्रित निर्णय, चरम सत्तालिप्साको दुषित नियतले भर्खरै प्राप्त जनादेशलाई उपेक्षा र तिरस्कार गर्दै गठबन्धन टुटेको छ।’
घिमिरेले भजनमण्डली भनेर देउवा निकट समूहका सदस्यलाई लक्षित गरेका हुन् । यसभित्र मुख्यतः पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत, आरजू देउवा, मीन विश्वकर्मालगायत पर्दैछन । अर्जुन नरसिंह केसीले भने सिधै देउवामाथि आक्रमण गरेका छन् ।

अर्को एक ट्वीटमा केसीले– ‘जे भयो भयो, अब चिन्ता हैन, चिन्तन गरेर अघि बढौं’ भन्ने आग्रह गरेका छन् ।

महामन्त्री विश्वप्रकाश शर्माले भने कार्यकर्तालाई नआत्तिन आग्रह गरेका छन्। उनको ट्वीटमा भनिएको छ–‘ देशभरिबाट साथीहरुले सोधिरहनु भएको छ, कसरी यस्तो भयो ? अब के हुन्छ ? मैले केवल यति भने, डन्ट वोरी। भएको के हो, सबैलाई थाहा छ । त्यसैले आलोचना, आत्मालोचनाको चरण हुन्छ । साँझ परेको छ, रात छिप्पिने छ । जिम्मेवार प्रतिपक्षका रुपमा हामी देशव्यापी मूभ हुनेछौं। नयाँ बिहानी हुने छ ।’

यसरी महामन्त्री शर्माले भने कांग्रेस कार्यकर्तालाई प्रतिपक्षी भूमिकाका लागि मानसिक रुपमा तयार गर्ने प्रयत्न गरेका छन् ।

अर्का महामन्त्री गगन थापाले भने आफूले सुरुदेखि नै गठबन्धनबाट धोका हुन सक्ने भन्दै आएको स्मरण गराउँदै ‘नेपालको राजनीति पूर्वप्रधानमन्त्रीको क्लबजस्तो भएको’ अरोप लगाएका छन् । नेपाल लिट्रेचर फेस्टिवलको पोखरा कार्यक्रमा पुगेर उनले ‘संसदीय दलको नेताको चुनाव हारेर आफू झंझटबाट जोगिएको’ ठट्यौलो टिप्पणी पनि गरे ।
देउवा इतर समूहका नेता शेखर कोइरालाले भने–‘कांग्रेसलाई प्रचण्डले धोका दिएको’ अभिव्यक्ति दिएका छन् । उनले देउवामाथि पनि प्रहार गरेका छन् ।
गठबन्धन टुटेपछिको राजनीतिक परिदृष्य र देउवाका कदमबारे उनी निकट कार्यकर्ता भने मौन छन् । देउवाका परराष्ट्र मामिला सल्लाहकार अरुण सुवेदीले भने–‘माओवादी र प्रचण्डमा एकोहोरो भर पर्नु हुँदैन थियो, एमाले र माओवादी बिनाको समीकरण समेत सम्भव थियो,वैकल्पिक गणितमा राम्रो ध्यान नदिँदा कांग्रेसले महत्वपूर्ण अवसर गुमाएको छ ।’
घटनाक्रम र कांग्रेसभित्र कै प्रतिक्रियाहरु हेर्दा अगामी दिनमा देउवामाथिको दबाब बढ्ने प्रष्ट छ । तर, यस्तो असन्तुष्टि कति अगाडिसम्म जान्छ र देउवापक्षले त्यसको प्रतिरक्षा कसरी गर्छ, त्यो भने आम जिज्ञासाको बिषय बनेको छ ।

Tags :

प्रकाशित: १२ पुष २०७९, मंगलवार ०८:३९