काठमाडौं। पुरानो गठबन्धन भत्किएर एकाएक नयाँ गठबन्धन बनपछि एकीकृत समाजवादी रुल्लटुल्ल परेको छ।
यसअघि कांग्रेससँग सत्ता साझेदारीमा रहेका दलहरु नयाँ गठबन्धनमा जोडिएपछि एकीकृत समाजवादी अलपत्र जस्तै परेको छ।
एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले नेपाली कांग्रेसले हठ नत्याग्दा गठबन्धन टुटेको आरोप लगाउन थालिसकेका छन्। तर कांग्रेसलाई आरोप लगाएपनि एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतको सात दलीय नयाँ गठबन्धनमा जान तत्तकाललाई सम्भव छैन्।
तत्कालिन नेकपा विभाजन हुँदा र नेकपा एमाले फुट्दा सबैभन्दा धेरै झगडा माधव नेपाल र केपी शर्मा ओलीबीच नै भएको थियो। उनीहरुले चुनावको नतिजापछि पनि एक अर्कालाई गाली गर्न छाडेनन्। बालकोट स्रोतका अनुसार केपी शर्मा ओली माधव नेपाललाई तत्कालै नयाँ गठबन्धनमा ल्याउने पक्षमा छैनन्।
‘एमाले फुटाएको पश्चाताप गरेपछि बल्ल सोचौँला, अहिलेलाई माधव नेपाललाई ल्याउने कुरा नगरौँ।’ ओलीको भनाई उधृत गर्दै एक नेताले भनेका छन्। पार्टी फोडेको र आफूलाई अनेक गाली गरेको रिस फेर्नकै लागि पनि ओलीले माधव नेपालको दललाई अहिले नयाँ गठबन्धनमा ल्याउने सम्भावना कम देखिन्छ ।
खासै जनाधार नभएको एकीकृत समाजवादीले कांग्रेस र माओवादीको जोडबलमा प्रत्यक्षतर्फ १० वटा सिट जितेको छ। प्रत्यक्षमा १० सिट जितेपनि समानुपातिकमा ३ लाख मत पनि कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेन। यसैले नै उसको कमजोर जनाधार पुष्टि गर्छ।
१० सिट नै जितेको भएपनि कांग्रेस नेतृत्वको पुरानो गठबन्धनमा एकीकृत समाजवादीको राम्रै हैसियत थियो र भागवण्डामा अरु दलले राम्रै स्थान दिएका थिए। तर पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेसँगै एकीकृत समाजवादी पार्टी यता न उता भएको छ।
जसरी पनि सरकारको नेतृत्व गर्न कस्सिएका प्रचण्ड पुरानो गठबन्धन तोडेर एमालेसँग टाँसिएपछि त्यसको सबैभन्दा मारमा समाजवादी परेको छ।
प्रकाशित: १२ पुष २०७९, मंगलवार १०:२४