सन्दीपविरुद्धको मुद्दा बेल्बासेको इजलासमा, किशोरीका तीनवटा जन्म मिति भेटिए



काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दा न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा परेको छ।

काठमाडौैं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा मुद्दाको सुनुवाइ हुन लागेको हो।
एक किशोरीले दिएको जाहेरीका आधारमा प्रहरी प्रतिवेदनबाट सरकारले गत कात्तिक १४ गते सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दायर गरेको थियो।

अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा पठाइएका लामिछानेको मुद्दा मंगलबार पेसीमा चढेको थियो।

लामिछानेले गत भदौ ५ गते राती र भदौ ६ गते बिहान सिनामंगलको एक होटलमा पुराएर आफूमाथि जबरजस्ती करणी गरेको भन्दै एक किशोरीले प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । किशोरीको जाहेरीपछि प्रहरीले सन्दीपमाथि अनुसन्धान गर्दै काठमाडौं जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दर्ता गराएको थियो।

जबरजस्ती करणी भएको भनिएकी जाहेरवाली किशोरीको उमेर १८ वर्षभन्दा कम भएको भन्दै लामिछानेलाई १० देखि १२ वर्षसम्मको कैद सजायको मागदावी गरिएको छ।

तीनवटा पाइयो किशोरीको जन्ममिति

किशोरीको उमेरका सम्बन्धमा सरकार वादी भएर दायर भएको मुद्दामा वादी पक्षले किशोरीको जन्म मिति २०६२ जेठ १८ गते रहेको कागजात पेश गरेका छन्।

किशोरीको जन्म मिति खुल्ने कागजातमा उनको नागरिकताको फोटोकपी र शैक्षिक प्रमाणपत्रको फोटोकपी पेस गरिएको छ। यो मितिले गणना गर्दा वारदात भएको भनिएको समय २०७९ भदौ ६ गते उनको उमेर १७ वर्ष ३ महिना मात्रै पुगेको हुन्छ।

यस्तो अवस्थामा आपसी सहमतिमै करणी लेनदेन भएपनि त्यसलाई अपराध र बलात्कार मानिने कानुनी व्यवस्था छ।

तर किशोरीले आफू पढेको कास्कीस्थित विद्यालयमा पेस गरेको कागजात र विद्यालयको दर्ता किताबमा किशोरीको जन्म मिति २०६१ जेठ १८ गते उल्लेख छ। किशोरी आफैले भरेको फारममा उनले आफ्नो जन्म मिति २०६१ जेठ १८ गते उल्लेख गरेकी छन्। यसलाई जन्म मितिका रुपमा मान्ने हो भने वारदात भएको भनिएको समयमा किशोरीको उमेर १८ वर्ष ३ महिना पूरा भएको हुन्छ र यसलाई सहमतिको यौनसम्बन्धका लागि पुगेको उमेर मानिन्छ ।

तर सबैभन्दा महत्वपूर्ण र प्रमाणका रुपमा लिन मिल्ने स्थानीय तहमा रहेको जन्मदर्तामा किशोरीको जन्ममिति २०६१ असार १८ गते रहेको पाइएको छ। नुवाकोटको एक स्थानीय तहले काठमाडौैं जिल्ला अदालतमा पठाएको उमेर खुल्ने कागजात र त्यससँग सम्बन्धित प्रमाणमा किशोरीको जन्म मिति २०६१ असार १८ गते रहेको उल्लेख छ ।

काठमाडौं जिल्ला अदालतले कागजात माग गरेपछि उनको स्थायी ठेगाना रहेको नुवाकोटको एक स्थानीय तहले करिब १५ दिन पहिले नै जन्मदर्ता खुल्ने दर्ता किताब (ढड्डा) सहितको कागजात काठमाडौं जिल्ला अदालतलाई पठाएको थियो। उक्त दर्ता किताबमा उनको जन्म मिति २०६१ असार १८ गते रहेको उल्लेख छ।

किशोरीको परिवार अन्यत्र स्थानबाट नुवाकोटमा बसाईसराई गरी लिएको कागजात र प्रमाणपत्रमा किशोरीको जन्म मिति २०६१ असार १८ नै उल्लेख छ। स्मरणीय के छ भने सरकारी तथ्यांकमा दर्ता भएको किशोरीको उमेर खुल्ने पहिलो दर्ता २०७३ साल असोज ११ गते भएको थियो। सरकारको आधिकारिक निकायमा भएको पहिलो दर्तामा उनको जन्म मिति २०६१ असार १८ गते उल्लेख छ।

बसाईसराईको फारम भर्दा र अन्यत्रबाट बसाईसराई गरी उक्त स्थानमा जाँदा भरेको अनुसूची फारम र उमेर खुल्ने कागजातमा किशोरीको जन्म मिति २०६१ असार १८ गते रहेको देखिन्छ।

Tags :

प्रकाशित: १२ पुष २०७९, मंगलवार १३:२३