काठमाडौ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न अदालतले उनको जन्म भएको अस्पतालबाट कागजात झिकाउन आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले मंगलबार अस्पतालबाट जन्मदर्ताको कागजात झिकाउने आदेश दिएको हो । मंगलबार पीडित किशोरीको जन्मसम्बन्धी प्रमाण झिकाउने आदेश भएको छ,’ सन्दीपका कानुन व्यवसायी सरोज घिमिरेले भने । लामिछानेमाथि नाबालिग (१८ वर्षमुनि) लाई बलात्कार गरेको आरोप छ ।
सन्दीपको पक्षले भने किशोरी १८ वर्षमुनिको नभएको दाबी गर्दै आएको छ । पीडित किशोरीको नारायणी अस्पताल वीरगन्जमा जन्म भएको भनिएको छ । अदालतले सोही अस्पतालबाट जन्म रेकर्डको कागजात झिकाउन आदेश गरेको हो । अदालतले मंगलबारकै आदेशमा किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक तथा किशोरी र सन्दीपका साथी भनिएका क्रिकेटर देव खनाललाई पनि बकपत्रका लागि बोलाउने आदेश गरेको छ । सन्दीपले गत ५ भदौमा काठमाडौंको एक होटेलमा पुर्याएर दुईपटक बलात्कार गरेको भन्दै एक किशोरीले २१ भदौमा प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।
तत्कालीन समयमा राष्ट्रिय क्रिकेट टिमको क्याप्टेन रहेका सन्दीप घटना भएको भनिएको भोलिपल्ट ६ भदौमा टी–२० शृंखलाका लागि केन्या गएका थिए । उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्ट इन्डिज गएका थिए । २० असोजमा नेपाल फर्किएका सन्दीप लामिछानेलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।
प्रकाशित: १३ पुष २०७९, बुधबार ०६:१८