प्रचण्डलाई मन्त्रिपरिषद्लाई पूर्णता दिन कति छ सहज ?



काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई पूर्णता दिन परामर्श सुरु गरेका छन्। सोमबार आठ सदस्यीय मन्त्रिमण्डल गठन गरेर सरकारको नेतृत्व गरेका प्रचण्डले नयाँ मन्त्री नियुक्तको लागि परामर्श सुरु गरेका हुन्।

सत्ता सहयात्री दलहरुले सरकारमा जाने मन्त्रीको नाम टुंगो नलगाउँदा र आफूले पाउने मन्त्रालयका विषयमा कुरा मिलिसकेको छैन भने सरकारलाई समर्थन गरेका दुईवटा दलले तत्काल सरकारमा सहाभागी नहुने बताइसकेका छन्।

एमालेले आफ्ना चार जना मन्त्रीलाई सरकारमा पठाएको छ भने माओवादीबाट एक जना र राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक, जनमत पार्टीबाट जना सरकारमा सहभागी भएका छन्।

सरकारलाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी भने अहिले सरकारमा सहभागी भएका छैनन्। उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुनका लागि जेलमा रहेका रेशम चौधरीलाई रिहा गर्नुपर्ने शर्त राखेको छ भने राप्रपाले सरकारका काम कारवाही हेरेर मात्रै सरकारमा सहभागी हुने विषयमा सोच्न सकिने बताएको छ।

सरकारलाई समर्थन गरेको जसपा सरकारमा सहभागी हुने भएपनि संसदीय दलको नेता चयन नभएका कारण ढिला भएको छ। संसदीय दलको नेता चयनका लागि जसपामा आज चुनाव हुँदैछ।

सरकारलाई पुर्णता दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलसँग परामर्श सुरु गरेका छन्। शीर्ष नेतासँग प्रधानमन्त्री प्रचण्डले मन्त्रालयको संख्या र कुन मन्त्रायल कसलाई दिने भन्ने विषयमा परामर्श सुरु गरेका हुन्।

तीन उपप्रधानलाई जिम्मेवारी दिएपनि सपथ दिएका चार मन्त्री जिम्मेवारविहीन छन्। स्रोतका अनुसार नेकपा एमालेले दश वटा मन्त्रालय दाबी गरेको छ भने माओवादी केन्द्रले सात वटा मन्त्रालय दाबी गरेको छ। अन्य दलले तीन तीन वटा मन्त्रालय दाबी गरेको छन्।

जसपाले भने तीन मन्त्रालयसहित उपराष्ट्रपति र उपसभामुख पनि आफूले पाउनु पर्ने अडान लिएको छ। तर कुन दललाई कतिवटा मन्त्रालय दिने भन्ने विषयमा सहमति भइसकेको छैन।

प्रधानमन्त्री प्रचण्ड चाँडै मन्त्रिपरिषदलाई पूर्णता दिएर जनअपेक्षासहित काम गर्ने पक्षमा रहेकाले चाँडै मन्त्रिपरिषदले पूर्णता पाउने उनी निकट नेताहरुले बताएका छन्।

अहिले प्रधानमन्त्री प्रचण्डसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। एमालेबाट उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीमा विष्णु पौडेल, नेकपा माओवादी केन्द्रबाट उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नारायाणकाजी श्रेष्ठ र उप्रप्रधानसहित गृहमन्त्रालयमा रवि लामिछानेले पद तथा गोपनियातको सपथ लिइसकेका छन्।

त्यस्तै एमालेकै तर्फबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईले विना विभागीय मन्त्रीको रुपमा सपथ लिइसकेका छन्। यसैगरी, जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले नेपाल जनमत पार्टीको प्रतिनिधित्व गर्दै सपथ लिइसकेका छन्।

अहिले सरकारमा नेकपा माओवादीको नेतृत्वमा नेकपा एमाले, रास्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी सात दलको गठबन्धन बनेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयसहित कुल २५ वटा मन्त्रालय रहेका छन् जसमध्ये सत्ता साझेदारका दलका दलले कुन मन्त्रालय पाउने भन्ने विषयमा आन्तरिक छलफल भइरहेको छ। दाहाल नेतृत्वको सरकारलाई दलहरू र स्वतन्त्र गरी कुल १६९ जना सांसदहरूको समर्थन रहेको छ। गठबन्धनमा रहेका दलमध्ये सबैभन्दा ठूलो दल नेकपा एमालेका ७८ जना सांसद रहेका छन्।

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका कुल ३२ सांसद छन्। त्यस्तै पहिलो पटक चुनावमा सहभागी भएर प्रतिनिधिसभाको चौथो शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका २० जना सांसद छन्।

त्यसबाहेक राष्ट्रिय दल बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी नेपालका १२ र सीके राउत नेतृत्वको जनमत पार्टीका ६ जना सांसद रहेका छन्। त्यस्तै नागरिक उन्मुक्ति पार्टीका ४ जना सांसद छन् भने अन्य ३ स्वतन्त्र सांसदले पनि दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेका छन्।

 

प्रकाशित: १३ पुष २०७९, बुधबार ०८:१६