गण्डकी कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी



पोखरा। नेपाली कांग्रेस गण्डकी संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी भएका छन्।

उनले १८ मत प्राप्त गर्दा प्रतिस्पर्धी भोजराज अर्यालले ८ मत पाए । एक मत बदर भएको छ। बुधबार आज दिउँसो १ देखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेकामा दुई जनाले उम्मेदवारी दर्ता गराएका थिए। दुवैजनामध्ये कसैले पनि उम्मेदवारी फिर्ता नलिने भएपछि मतदानबाटै नेता छानिएका हुन्।

संस्थापन पक्षबाट उम्मेदार बनेका पाण्डेको प्रस्तावकमा बिन्दुकुमार थापा र समर्थकमा टकराज गुरुङ थिए। संस्थापन इतरबाट उम्मेदवार बनेका अर्यालको प्रस्तावकमा महेन्द्रध्वज जिसी र समर्थकमा पार्वती तामाङ थिए।

गण्डकी प्रदेश सभामा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ ९ गरी २७ सिट जितेको छ।

गठबन्धनबाट चुनाव लडेको कांग्रेसलाई माओवादी अध्यक्ष प्रचण्डले धोका दिएपछि मुलुकभरकै राजनीतिक समीकरण फेरिएको छ। संघ र सातवटै प्रदेशका कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने भएको छ।

Tags :

प्रकाशित: १३ पुष २०७९, बुधबार १६:४७