विशेष महाअधिवेशन होइन नीति अधिवेशन बोलाउनुपर्यो :डा कोइराला



विराटनगर । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालगायतलाई कारबाही गर्नुपर्छ भन्नु गलत भएको बताउनुभएको छ । उहाँले विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सभापतिलाई केमा कसरी कारबाही गर्ने भन्दै प्रतिप्रश्नसमेत गर्नुभयो। सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसँग मिलेर प्रधानमन्त्री बनेको विषयमा सभापतिलाई कारबाही गर्नुपर्ने माग उठेको थियो । उहाँले भन्नु भो , ‘मलाई पनि मुखमा आएको सत्ता गयो भन्ने चिन्ता छ । तर, कारबाही भन्ने कुरा हुँदैन ।’

कांग्रेस छोडेर एमालेसँग मिल्नु भनेको माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनको मर्म बुझ्न नसक्नु भएको उहाँको टिप्पणी छ । ‘यो कांग्रेसको पनि कमजोरी हो’, उहाँले भने, ‘मैले के भने भन्ने कुरा महत्वपूर्ण होइन । प्रधानमन्त्री या राष्ट्रपति के चाहिन्छ भन्ने कुरामा सभापतिलगायत वार्तामा हुनेहरुले फाइनल गर्नुपर्थ्यो ।’

नेता कोइरालाले कांग्रेसले अब नीति अधिवेशन बोलाउनुपर्ने बताउनुभयो। केही नेताहरुले विशेष अधिवेशनको माग गरिरहेका वेला कोइरालाले भने विशेष अधिवेशन बोलाउने प्रक्रिया लामो र झन्झटिलो भएको भन्दै नीति अधिवेशन बोलाउनुपर्नेमा जोड दिनुभयो ।

 

प्रकाशित: १४ पुष २०७९, बिहीबार ०६:३८