काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेश विरुद्धको पुनरावेदन मुद्दामा आज (बिहीबार) पेशी तोकिएको छ।
उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको उनका कानुन व्यवसायी सरोज कृष्ण घिमिरेले जानकारी दिए। यसअघि गत ७ पुसका लागि पेशी तोकिएको थियो। तर, सर्वोच्च बारको अधिवेशनमा वरिष्ठ अधिवक्ताहरु व्यस्त भएपछि पेशी सरेको थियो। आजको पेशी भने नसर्ने घिमिरेले बताए। जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए।
नाबालिग किशोरीलाई जबरजस्ती बलात्कारको अभियोगमा थुनामा पठाइएका लामिछानेका कानुन व्यवसायीले गत मंसिर २९ गते पुनरावेदन दर्ता गराएका थिए। पीडित भनिएकी किशोरीको २ वटा जन्मदर्ता रहेको र उनी नाबालिग नभएको भन्दै अलालतमा प्रमाण पेश गरेका छन्।
अदालतले त्यसबारेमा सम्बन्धित कार्यालयबाट प्रमाण समेत झिकाइसकेको छ। तीनै दोहोरो कागजातका आधारमा पीडित नाबालिग नरहेको र लामिछानेले जबरजस्ती करणी पनि नगरेको दाबीसहित उनी पक्ष उच्च अदालत पुगेको हो।
यसअघि जिल्ला अदालतमा थुनछेकको बहसका क्रममा सन्दीपका वकिलहरुले नाबालिग भनिएकी पीडितको उमेर १८ वर्ष ३ महिना भइसकेकाले अभियोग नै गलत भएको तर्क गरेका थिए। नाबालिगले जबर्जस्ती करणी गरेको आरोपमा जाहेरी दिएपछि सन्दीपलाई प्रहरीले गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ गरेर अनुसन्धान गरेको थियो।
प्रकाशित: १४ पुष २०७९, बिहीबार ०८:५१