सत्ता गठबन्धनले ५ दिनभित्र न्यनूतम् साझा कार्यक्रम ल्याउने



काठमाडौं। सात दलीय सत्ता गठबन्धनले आगामी ५ दिनभित्र न्यनूतम् साझा कार्यक्रम तय गर्ने भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय लिएको गृहमन्त्री रवि लामिछानेले बताएका छन्।

‘आजको बैठकमा प्रमुख सत्ता साझेदार दलहरुबीच छलफल भएको छ। बैठकले पाँच दिनमा न्यूनतम् साझा कार्यक्रम तय गर्ने भएको छ’, उनले भने, ‘साथै यो बैठकले सत्ता गठबन्धनको संयोजकका रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अघि बढाउने निर्णय गरेको छ।’

बैठकमा मूलभूत रुपमा न्यूनतम् साझा कार्यक्रम कसरी अघि बढाउने भनेर कुरा भएको पनि उनले बताए। ‘न्यूनतम् साझा कार्यक्रम तय गर्न सातै दलबाट एक एकजना प्रतिनिधि हुनुहुनेछ’, उनले भने, ‘हामी के उद्देश्यका सरकारमा आएका हौँ भन्ने पुष्टि गर्न यो कार्यक्रम ल्याउन लागिएको हो।’

लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकारमा आउने बताए। ‘उहाँहरु (राप्रपा) का एजेन्डाहरु पनि साझा कार्यक्रममा समावेश गरिनेछ। ती एजेन्डा नागरिकका एजेन्डा हुनेछन् भन्ने छ’, उनले भने, ‘राप्रपा अध्यक्षले पनि सरकारमा सहभागी हुने बताउनु भएको छ। साझा कार्यक्रममा लागि एक एकजना नेता तोक्ने भएको छ। त्यहाँ राप्रपा पनि सहभागी हुनेछ।’

Tags :

प्रकाशित: १४ पुष २०७९, बिहीबार ११:४२