काठमाडौं। नेपाली कांग्रेसको प्रदेश १ संसदीय दलको नेताका लागि तीन जनाको उम्मेदवारी परेको छ।
उम्मेदवारी दिनेहरूमा उद्धव थापा, अमृत अर्याल र केदार कार्की रहेका छन्। अर्याल केन्द्रीय सदस्य हुन भने थापा प्रदेश अध्यक्ष हुन। त्यसैगरी कार्की प्रदेश सरकारका आन्तरीक मामिला तथा कानून मन्त्री रहेका छन्।
दलको नेतामा यसअघि दाबी गरिरहेका अर्का केन्द्रीय सदस्य भीम पराजुलीले भने उद्धव थापालाई समर्थन गरेका छन्।
कार्कीको रामकुमार खत्री प्रस्तावक र शम्शेर राई समर्थक रहेका छन्।
अर्यालको प्रस्तावकमा डोल्मा तामाङ र सुनिताकुमारी चौधरी समर्थक रहेका छन्। यस्तै थापाको प्रस्तावकमा भुपेन्द्र राई र समर्थकमा भीम पराजुली रहेका छन्।
कांग्रेसले आज दिउँसो १२ः३० बजेदेखि १ः३० बजेसम्मका लागि उम्मेदवारको दरखास्त आव्हान गरेको थियो।
आजै दिउँसो २ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गर्ने, उम्मेदवारका विषयमा दाबी विरोध, जाँचबुझ, उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यक्रम पनि आजै हुनेछ।
अपरान्ह ४ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। यस्तै भोलि बिहान ९ बजेदेखि १० बजेसम्मका लागि मतदानको समय तोकिएको छ।
उम्मेदवारी दिने थापा र अर्याल संस्थापन पक्षका हुन्। संस्थापन इतर पक्षबाट केदार कार्की एक्लैको उम्मेद्वारी परेको छ।
सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूहबाटै दुईजना दाबेदार अघि सरेपछि संस्थापन पक्ष तनावमा छ। नेता सिटौला निकट रहेका प्रदेश १ का पार्टी सभापति थापा र केन्द्रीय सदस्यसमेत अमृत अर्याल देउवा निकट हुन्। सभापति शेरबहादुर देउवा पक्षमा १२ जना प्रदेश सांसद देखिन्छन्।
कृष्णप्रसाद सिटौला र शेखर कोइरालाका पक्षले आफूहरूसँग समान ९–९ जना सांसद रहेको दाबी गरेका छन्। तर, केही सांसदलाई देउवा र शेखर समूह दुवैले आफ्नो समूहमा राखेका छन्।
अमृत अर्याल, हिमाल कार्की, सदानन्द मण्डल, इस्राइल मन्सुरी, खगेनसिंह हाङ्गाम, प्रदीपकुमार सुनुवार, डोल्मा तामाङ, लीलाकुमारी राई, मैया श्रेष्ठ, सुनिता गच्छदार, सुनिताकुमारी गुरुङ र ममता मगर तामाङ गरी १२ जना आफ्नो समूहमा रहेको देउवा पक्षको दाबी छ।
शेखर कोइराला समुहमा केदार कार्की, शमशेर राई, रामकुमार खत्री, इन्दिरा थापा, विनोद राई, मानबहादुर लिम्बू, गोविन्द गिरी र गयानन्द मण्डल सांसद छन्।
सिटौला समूहमा उद्धव थापा, भीम पराजुली, भूमिप्रसाद राजवंशी, भूपेन्द्र राई, खगेश्वरी पौडेल, मोहन महर्जन, शोभा चेम्जोङ पालुङ्वा, लेखीकुमारी गणेश र गोपाल तामाङ गरी ९ जना सांसद छन्।
यसअघि आज बिहान कोइराला निवासमा सहमति गराउने प्रयास स्वरुप भएको छलफलमा कुनै सहमति हुन सकेन। कांग्रेस नेता डा. शेखर कोइरालाले उनीहरुलाई सहमत गराउन पहल गरेका थिए। नेपाली कांग्रेसको प्रदेश पार्टी कार्यालय विराटनगरमा निर्वाचन कार्यक्रम राखिएको छ।
९३ सदस्सीय प्रदेशसभाको दोस्रो ठूलो दल कांग्रेससँग जम्मा २९ सांसद छन्। कांग्रेसको विधान अनुसार दलको नेता छानिन ५१ प्रतिशत मत ल्याउनैपर्छ। त्यसका लागि १५ मत आवश्यक पर्छ।
प्रकाशित: १४ पुष २०७९, बिहीबार १४:३४