काठमाडौं। काठमाडौं महानगरपालिकाले महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोप लागेका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेमाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।
प्रहरी हवल्दार गंगा उप्रेतीले आफूलाई सुत्केरी हुँदा पाण्डेले दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि त्यसबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिए।
उक्त छानबिन समितिको संयोजकमा सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेल छन् भने न्याय प्रशासन विभागकी सुमित्रा लामिछाने र सहरी योजना आयोगकी उपनिर्देशक सरिता कुमारी राई सदस्य छिन्।
‘छानबिन समिति पुस ८ गते गठन गरिएको हो,’ उनले भने, ‘समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउने छ। त्यसपछि समितिले भनेअनुसार नै कारबाही प्रक्रिया अघि बढ्ने छ।’
गंगाले आफूलाई दुर्व्यवहार गरेको भन्दै मंसिर ९ गते प्रमुख प्रशासकीय अधिकृत अधिकारी र त्यसको केही समयपछि उपमेयर सुनिता डंगोलसमक्ष निवेदन दिएकी थिइन्।
त्यसपछि महानगरपालिकाले मंसिर १९ गते पाण्डेसँग स्पष्टीकरण सोधेको थियो। उनले पुस ५ मा मात्रै स्पष्टीकरण बुझाएका थिए।
यसबीचमा महिला प्रहरीले दुर्व्यवहारको उजुरी गरेपछि पाण्डेमाथि तत्काल छानबिन सुरू गर्नुपर्नेमा महानगरले उल्टो उनलाई पुरस्कृत गर्ने निर्णय गर्यो। महानगरको २८ औं स्थापना दिवसका अवसरमा मंसिर २९ गते पाण्डेलाई ‘महानगर गौरव’ पुरस्कार दिइएको थियो।
प्रकाशित: १४ पुष २०७९, बिहीबार १९:२९