व्यक्तिगत सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता हुँदै



काठमाडौं । कार्यविधि विपरीत खटिएका सुरक्षाकर्मी धमाधम फिर्ता हुन थालेका छन् । गृह मन्त्रालयले पुस १२ मा ४८ घण्टाभित्र कार्यविधि मिचेर परिचालन गरिएको सुरक्षाकर्मी फिर्ता गराउन सुरक्षा निकायलाई निर्देशन दिएपछि उनिहरु फिर्ता भएका हुन् ।

प्रहरी प्रधान कार्यालयबाट पूर्व कर्मचारी र सुरक्षाकर्मीहरूको व्यक्तिगत सहयोगीको रूपमा खटिएका कर्मचारी फिर्ता आएको प्रहरी प्रवक्ता (डिआइजी) टेक प्रसाद राईले जानकारी दिए ।

गृह मन्त्रालयमा प्रहरीका चालकलाई कर्मचारीहरूले आफ्नो सवारी चलाउन प्रयोग गरेका थिए। गृह मन्त्रालयबाट ३१ जना चालक हेडक्वार्टर फर्किएको प्रवक्ता राईले बताए।

प्रहरी प्रधान कार्यालयका अनुसार केही पूर्व मन्त्रीहरूका व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) हरु पनि फिर्ता भएका छन् । ५ जना पूर्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सहयोगीका रूपमा खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ ।

पूर्व गृह मन्त्रीले १० वर्षसम्म २ जना पिएसओ र सशस्त्र प्रहरीको पछुवा गाडी पाउँछन् । पूर्व मन्त्रीले दुई वर्षसम्म १ जना व्यक्तिगत सुरक्षा अधिकृत पाउँछन् । राज्यमन्त्रीले पनि दुई वर्षसम्म पिएसओ पाउने व्यवस्था विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि–२०७७ मा उल्लेख गरिएको छ ।

नयाँ कार्यविधिमा पूर्व सुरक्षाकर्मीहरू मध्येमा एआईजी र डिआइजीहरूले पाउँदै आएको सुरक्षा हटाइएको छ।                                                     यो पनि                            सशस्त्र प्रहरीका ८५ कर्मचारी फर्किए                                                                                     निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

प्रकाशित: १५ पुष २०७९, शुक्रबार ०९:१३