स्थानीयले घेरा हालेर नियन्त्रणमा लिए भारतीय लुटेरा



काठमाडौं। कञ्चनपुरमा तीन जना भारतीय हतियारधारी लुटेरा प्रहरी र स्थानीयको सक्रियतामा पक्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका १ वैशाखी गाउँबाट भारतीय लुटेरालाई प्रहरीले पक्राउ गरेको हो।
मध्यरातमा लुटेराहरूको समूह नेपाल प्रवेश गरेको थियो। हतियारसहित लुटपाट गर्न नेपाल आएका उनीहरुको मध्यरातमा प्रहरी र स्थानीयसँग जम्काभेट भएको थियो। पुसे १५ मनाइरहेका बेला स्थानीय र प्रहरीसँग भेट भएपछि उनीहरु तितरबितर भए।

यहि क्रममा सबै एक घर भित्र लुकेको अवस्थामा प्रहरीले एक लुटेरालाई पक्राउ गर्‍यो। ती लुटेराबाट प्रहरीले एक पेस्तोल र आठ राउन्ड गोलीसमेत बरामद गरिएको थियो।

थप अनुसन्धानमा केरकार गर्दा सोही व्यक्तिको बयानका आधारमा प्रहरी र स्थानीयको सक्रियता थप दुई जना पक्राउ परे। सबै भन्दा पहिले पक्राउ परेका लुटेराले आफ्ना केही साथी नजिकैको उखुबारीमा लुकेको प्रहरीलाई बयान दिएका थिए।

सोही बयानको आधारमा प्रहरी र स्थानीय करिब ७ घण्टा उखुबारीमा सर्च गरे। राति १ः३० बजे देखी नजिकैको उखुबारीमा खोजतलास गर्दा बिहान करिब ७ः३० बजे थप २ जना लाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए। उनले अन्य पनि हुन सक्ने भन्दै खोजि भइरहेको बताए।

सबै भन्दा पहिले पक्राउ गरेका लुटेराले उखुबारीको बारेमा बताएपछि केही बेरमै सयौँ युवाहरू उखुबारी घेरा हाल्न पुगेका थिए। नजिकै नेपाल भारत सीमा नाका भएपनि युवाहरूले घेरा हालेका कारण उनीहरु भारत जान सकेका थिएनन्। केही दिनदेखि श्रृंखालवद्ध रुपमा भइरहेको चोरीका कारण स्थानीय त्रसित भएका थिए।

प्रकाशित: १६ पुष २०७९, शनिबार १४:२०