भाषण कम र काम धेरै गर्छु : प्रचण्ड



काठमाडौं। प्रधानमन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला चितवन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाषण कम र काम धेरै गर्ने बताएका छन्।

शनिबार चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सव उद्घाटन गर्दै प्रचण्डले भाषणभन्दा काम बढी गर्ने बताएका हुन्।

उनले भने, ‘बाँकी जीवन सुशासन र विकासका लागि समर्पित गर्ने भनेको छु। अहिले धेरै भाषण गर्ने मनस्थितिमा छैन। कार्यकालभर भाषण कम, काम धेरै र जनताको सेवा गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छु।’ यसका लागि हरेक दिन सुशासन र विकासको पक्षमा केही न केही काम गर्दै जाने योजना बुनेको प्रधानमन्त्री प्रचण्डले सुनाए।

भ्रष्टाचार र बेथिति अन्त्य गरेर सुशासन कायम गर्न पहिलो मन्त्रिपरिषद् बैठकबाटै निर्णय गरिएको र जनतालाई सास्तीबाट मुक्त राख्ने प्रयासमा निरन्तर डटिरहने प्रतिबद्धता उनले व्यक्त गरे।

Tags :

प्रकाशित: १६ पुष २०७९, शनिबार १५:१२