आगलागीबाट कास्कीमा पूर्व वडाध्यक्षको निधन



काठमाडाैं। कास्कीको मादी गाउँपालिका-१ सिक्लेसका सुरजकुमार गुरुङको आफ्नै घरमा आगलागी हुँदा जलेर निधन भएको छ।

आगलागीका कारण निर्वतमान वडाध्यक्ष गुरुङको निधन भएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए।

उनका अनुसार आइतबार राति १०ः३० बजे आगलागी नियन्त्रणमा लिइएपछि गुरुङको शव घरभित्र जलेको अवस्थामा फेला परेको थियो।

सुरजकुमार विसं २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए।

मृतक गुरुङकै घरदेखि आगलागी सुरु भएको बताइन्छ। कपडा पसल सञ्चालन गर्दै आएका उनी घरमा एक्लै बस्ने गर्थे।

उनका छोरा/बुहारी गाउँकै अर्को घरमा बसोबास गर्दै आएको बताइन्छ।

आगलागीबाटसँगैको तौबहादुर गुरुङको घरसमेत जलेर पूर्ण क्षति भएको वडाध्यक्ष देवीजङ्गले जानकारी दिए।

के कारणले आगलागी भएको भन्ने यकिन हुन नसकेको बताइन्छ।

प्रकाशित: १८ पुष २०७९, सोमबार ०९:२६