जसपाले सरकारबारे निर्णय गर्न बोलायो राजनीतिक समितिको बैठक



काठमाडौं। सरकारमा जाने कि नजाने भन्ने विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) को राजनीतिक समितिको बैठक बस्दै छ।

सोमबार र मंगलबार (आज र भोलि) दुई दिनसम्म चल्ने बैठकले सरकारमा सहभागी हुने कि नहुने भनेर निर्णय गर्ने नेताहरुले बताएका छन्।

जसपा संसदीय दलका नेता रामसहाय प्रसाद यादवले आजबाट सुरु हुने राजनीतिक समितिको बैठकले सरकारमा जाने कि नजाने भनेर निर्णय गर्ने बताए।

बैठकमा चुनावको समीक्षा गर्दै राजनीतिक परिस्थितिको विश्लेषण गर्ने र आवश्यक निर्णय लिने उनको भनाइ छ।

पार्टी अध्यक्ष उपेन्द्र यादव सांसद समेत नभएकाले उनले सरकारमा चासो दिएको देखिएको छैन । तर नवनिर्वाचित सांसदसमेत भएका धेरैजसो नेताहरुले भने सरकारमा जानुपर्नेमा जोड दिएका छन्।

जसपाका प्रवक्ता मनिष सुमनले भने आफूहरुका मुद्दा सम्बोधन भए र शक्ति सन्तुलनमा कुरा मिले सरकारमा सहभागी हुन सकिने बताए ।

जसपाले नागरिकता सम्बन्धी विधेयक ल्याउनुपर्नेमा मुख्य जोड दिंदै आएको छ ।

यसअघिका प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा जारी भएको नागरिकता सम्बन्धी विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले फर्काइदिएकी थिइन्।

प्रकाशित: १८ पुष २०७९, सोमबार १०:०४