काठमाडौं। सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठकमा नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइका लागि अल्टिमेटम दिएको छ । माघिसम्म रेशमको रिहाइ नभए प्रदेशसभाको बैठक चल्न नदिने पनि उक्त पार्टीले चेतावनी दिएको छ ।
सोमबार बसेको प्रदेशसभाको पहिलो बैठकमा पार्टीका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले थारु समुदायको ठूलो पर्व माघीसम्म चौधरीको रिहाइ गर्न अल्टिमेटम दिएका हुन्।
उनले रेशमको रिहाइ नभए प्रदेशसभाको बैठक चल्न नसक्ने बताए । उनले भने, ‘डिल्लीबजार कारागारमा रेशम चौधरी र कैलाली कारागारमा हाम्रै थुप्रै साथीलाई बन्दी बनाएर राखिएको छ । माघी पर्वसम्म निर्शत रिहाइ गर्नुपर्ने हाम्रो माग छ । भएन भने माघपछि सदन चल्न दिइने छैन।’
चौधरीले टीकापुर घटना राजनीतिक घटना भएको भन्दै त्यसै अनुसार राज्यले निकास खोज्नुपर्ने समेत सुझाव दिए ।
संघीय सरकार गठनमा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइ भए मात्रै प्रदेश सरकार गठनमा सहयोग गर्ने समेत बताएको छ। सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति चौथो ठुलो दल हो।
प्रकाशित: १८ पुष २०७९, सोमबार १६:४३