भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको अन्तर्राष्ट्रिय उडान स्थगित भएको छ। मौसमको कारण देखाउँदै जजिरा एयरवेज र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान रोकेका हुन्। विमानस्थल कार्यालयका अनुसार गत डिसेम्बर १६ देखि हिमालय र २१ डिसेम्बरदेखि जजिराले उडान स्थगित गरेका हुन्। पहिलो कारण मौसम हो भने दोस्रो कारण यात्रु कम हुनु,ु विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले सेतोपाटीसँग भने, ुकाठमाडौंबाट बसमा यात्रुलाई भैरहवाबाट ल्याउनुपर्छ। मौसम खराब भएर यहाँबाट उडान भएन भने फेरि काठमाडौं पुर्याउनुपर्छ।
जजिराले मौसममा सुधार आएपछि नियमित उडान गर्ने बताएको उनले जानकारी दिए। तर यसका लागि अझै समय लाग्ने देखिन्छ। आन्तरिकतर्फका उडान पनि मौसमका कारण प्रभावित भएको उनले बताए। आन्तरिकतर्फ दैनिक १८ देखि २० वटासम्म उडान हुनेमा हाल ५ वटा उडान हुन पनि मुश्किल रहेको उनको भनाइ छ। उडान प्रभावित हुँदा भैरहवाबाट काठमाडौंका लागि यातायातमार्फत यात्रा गरिरहेको समेत उनले जानकारी दिए।
कम ुभिजिबिलिटीु का कारण अन्य मुलुकबाट गौतमबुद्ध आउने चार्टर्ड उडान समेत अवतरण हुन सकेका छैनन्। विशेषगरी अंग्रेजी नयाँ वर्षका लागि लुम्बिनी आउने हवाई पर्यटकहरूलाई समस्या भएको छ।
त्यस्तै कात्तिक १७ गतेबाट चार्टर्डमार्फत हिमालय एयरलाइन्सले भैरहवाबाट मलेसिया उडान सुरू गरेको थियो। हिमालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउन्ड ह्यान्डिलिङ र गौतमबुद्धमा व्यावसायिक ग्राउन्ड ह्यान्डलिङ पाउने शर्तमा उडान सुरू गरेको थियो। तर नागरिक उड्डयन प्राधिकरणले काठमाडौं र भैरहवाका दुवै विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा नेपाल एयरलाइन्सलाई दिइसकेको छ। शर्तअनुसार भैरहवा गए पनि पूरा नभएपछि उडान रोकिएको स्रोतले बताएको छ।
प्रकाशित: १९ पुष २०७९, मंगलवार ०६:५३