शीर्ष स्थानको आर्सनल बराबरीमा रोकिँदा युनाइटेडको सहज जित



काठमाडौं। इंग्लिस प्रमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको आर्सनल तेस्रो स्थानमा रहेको न्युक्यासल युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको छ।

मंगलबार राति इमिरेट्स स्टेडिमयमा दोस्रो स्थानको सिटीसँगको अग्रता थप फराकिलो बनाउने अवसरबाट आर्सनल चुकेको हो।

तर जारी सिजन शीर्ष चारको सम्भावना कायम राख्ने प्रयासमा रहेको न्युक्यासलले आर्सनललाई बराबरीमा रोक्दै अङ्क खोस्न सफल भयो।

दुवै टिमले गोलका केही राम्रा अवसर चुकाउँदा सम्भावित जितबाट विमुख भएका थिए। बराबरीपछि आर्सनलको १७ खेलबाट ४४ अङ्क भएको छ। सिटीभन्दा उसले ८ अङ्ककको अग्रता बनाएको छ।

त्यस्तै मंगलबार राति नै भएको खेलमा म्यानचेस्टर युनाइटेडले बोर्नेमाउथमाथि ३-० को सहज जित निकाल्यो।

युनाइटेडको जितमा क्यासिमेरो, लुक श र मार्कुस रासफोर्डले गोल गरेका थिए। जितसँगै युनाईटेडले न्युक्यासल समान ३५ अङ्क बनाएको छ।

युनाइटेड अङ्क तालिकाको चौंथो स्थानमा रहेको छ। मंगलबार नै भएका अन्य खेलमा फूलह्यामले लेस्टर सिटीलाई १-० तथा ब्राइटनले एभर्टनलाई ४-१ ले पराजित गर्‍याे।

प्रकाशित: २० पुष २०७९, बुधबार ०८:५१