धनगढी। सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेताका लागि सहमति नभएपछि निर्वाचन हुने भएको छ।
दलको नेता चयनका लागि मंगलबार रातिसम्म आकांक्षी उम्मेदवारलाई समय सीमा दिइएको थियो। सहमति नजुटेपछि निर्वाचनको तयारी गरिएको प्रदेश महामन्त्री तथा निर्वाचन समितिका सदस्य नरनारायण शाहले जानकारी दिए। निर्वाचन समितिको बैठकले निर्वाचन तालिका प्रकाशन गरेको उनले बताए।
सुदूरपश्चिम प्रदेशको संसदीय दलको नेताका लागि ७ जनाले दाबी गरेका छन्। दलको नेता चयनका लागि मंगलबार नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका कार्यवाहक उपसभापति लोकराज अवस्थीको नेतृत्वमा बसेको बैठक निश्कर्षविहीन भएको थियो।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिले दलको नेता चयन गर्नका लागि पार्टीका उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ।
निर्वाचन समितिको सदस्यमा प्रदेश उपसभापति जनकराज चौधरी, महामन्त्री नरनारायण शाह, प्रदेश सदस्य सुरत रावत र रामबहादुर देउवा रहेका छन् ।
दलको नेता चयनका लागि बैठकमा आकांक्षीहरुलाई धारणा राख्न समय दिएपछि ६ जनाले धारणासहित दलको नेताका लागि दाबी प्रस्तुत गरेका थिए भने एक जना भने बैठकमा नै उपस्थित भएका थिएनन्।
बैठकमा उपस्थिति नभएपनि फोन गरेर दाबी प्रस्तुत गरेको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री शाहले जानकारी दिए।
दलको नेता हुनका लागि प्रदेश सदस्य शिवराज भट्ट, बहादुरसिंह थापा, मेघराज खड्का, प्रकाशबहादुर देउवा, कमलबहादुर शाह, दिवानसिंह बिष्ट र मानबहादुर रावलले दाबी प्रस्तुत गरेका हुन्। कांग्रेसका १९ सांसद छन्।
प्रकाशित: २० पुष २०७९, बुधबार १२:२१