भोलिसम्म सरकारको न्यूनतम साझा कार्यक्रमले अन्तिम रूप दिने तयारी



काठमाडौं। सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच सरकारले थालेका कामहरूको समीक्षा भएको छ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम र सरकारले जनताको जनजीविकालाई सहज बनाउने गरी गर्न सकिने कामहरुबारे छलफल भएको हो।

बैठकपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने भोलिसम्म न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने तयारी भइरहेको बताए। बैठकमा भ्रष्टाचार नियन्त्रणलाई प्रमुख विषय बनाएर भएका कामहरूका साथै नीतिगत परिवर्तन ल्याउनेगरी छलफल भएको छ।

बैठकमा मन्त्रालय फुटाउने भनेर आएका समाचारका बारेमा समेत नेताहरुबीच कुराकानी भएको छ । मन्त्री लामिछानेले गठबन्धनको बैठकमा मन्त्रालय फुटाउनेबारे कुनै छलफल नभएको र त्यस्तो सोच समेत नभएको बताए।

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता दिने गठबन्धनको तयारी छ।

मन्त्री लामिछानेले आजको बैठक अनौपचारिक भएकाले समग्र विषयमा छलफल र कुराकानी भएपनि ठोस कुनै निर्णय नभएको बताए।

Tags :

प्रकाशित: २० पुष २०७९, बुधबार २०:१४