कर्णाली प्रदेशमा पुस २७ गतेभित्र सरकार गठन गर्न आह्वान



काठमाडौं। कर्णाली प्रदेशमा सरकार गठनका लागि आह्वान गरिएको छ।

प्रदेश प्रमुख तिलक परियारले यही पुस २७ गते बेलुका पाँच बजेभित्र मुख्यमन्त्रीको लागि दाबी पेश गर्न बुधबार आह्वान गरेका छन्।

प्रदेश सभामा संविधानको धारा १६८ उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकोले उपधारा २ बमोजिम बहुमत प्राप्त गर्नसक्ने गरी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा मुख्यमन्त्री नियुक्तिको लागि दाबी पेश गर्न आह्वान गरिएको हो।

४० सदस्यीय कर्णाली प्रदेश सभामा पाँच दल र एक स्वतन्त्र सांसद सहभागी छन्।

सहभागी दलहरूमध्ये कसैले पनि सरकार गठन गर्नेगरी बहुमत ल्याएका छैनन्।

प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन्।

यस्तै, राप्रपा र नेकपा (एस) बाट एक/एक जना सांसद छन्। जुम्लाबाट एक जना स्वतन्त्र सांसद कर्णाली प्रदेश सभामा सहभागी छन्।

केन्द्रको पछिल्लो सत्ता समीकरण अनुसार कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको स्पष्ट बहुमत पुग्छ।

बहुमत पुगे पनि कर्णाली प्रदेशमा नेकपा एमाले वा माओवादी केन्द्रले सरकारको नेतृत्व लिने भन्ने विषयमा अन्योलता छ। दुवै दलका मुख्यमन्त्रीका दाबेदार सांसदहरू केन्द्रीय नेतृत्वको निर्देशनको पर्खाइमा छन्।

Tags :

प्रकाशित: २१ पुष २०७९, बिहीबार १३:३०