काठमाडौं। नेकपा एकीकृत समाजवादीले अन्य दलसँग एकताका लागि ढोका खोलेको छ। उक्त पार्टीको बिहीबार बसेको सचिवालय बैठकले सबै वाम दलसँग एकताका लागि वार्ता अघि बढाउने निर्णय गरेको हो।
बैठकपछि संचारकर्मीसँग कुरा गर्दै उक्त पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले वामपन्थी शक्तिसँग एकताका लागि छलफल अघि बढाउने र त्यससम्बन्धि वार्ताका लागि कार्यदल बनाउने निर्णय भएको जानकारी दिए।
यसअघि उक्त पार्टीको पोलिटब्युरो बैठकले एकता प्रक्रियाबारे निर्णय गर्ने अधिकार सचिवालयलाई दिएको थियो। कुन-कुन दलसँग एकताका लागि पहल गर्ने भन्नेबारे खतिवडाले प्रष्ट पारेनन्।
एमालेसँग एकता हुन्छ त ? भनेर संचारकर्मीले सोधेको प्रश्नमा उनले त्यो एमालेमै भर पर्ने बताए । अहिलेसम्म एमालेको रवैया आफूहरुप्रति नकारात्मक रहेको उनले बताए ।
बैठकले सरकारलाई विश्वासको मत दिने / नदिनेबारे भने कुनै निर्णय नगरेको खतिवडाले जानकारी दिए । उनका अनुसार सरकारको नेतृत्व गरेको दलले विश्वासको मत मागेपछि बल्ल त्यसबारे छलफल हुनेछ।
प्रकाशित: २१ पुष २०७९, बिहीबार १६:०८