क्यानका पदाधिकारीमाथि सीआईबीले थाल्यो सोधपुछ



काठमाडौं। नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले म्याच फिक्सिङको बारेमा सोधपुछ थालेको छ।

क्यानका सबै पदाधिकारीलाई बोलाएर सोधपुछ गरिरहेको सीआईबी प्रमुख एआईजी उत्तमराज सुवेदीले जानकारी दिए।

सुवेदीका अनुसार त्रिवि क्रिकेट मैदानमा जारी नेपाल टि २० लिगका सबै पक्षसँग सोधपुछ भइरहेको छ।

‘हामीले क्यानका अध्यक्षसहित सबै पदाधिकारीलाई बोलाएर सोधपुछ गरिरहेका छौं। केही खेलाडीहरु पनि छन्। लिगका अन्य पदाधिकारीमाथि पनि सोधपुछ भइरहेको छ। अहिले सबै पक्षबाट तथ्य संकलन गरिरहेका छौं’, सुवेदीले भने।

सीआईबीले बोलाएपछि क्यानका अध्यक्ष चतुरबहादुर चन्द पूर्व कप्तान तथा म्यानेजर विनोद दाससहित बुधबार सीआईबीमा पुगेका थिए।

उनीहरुलाई पुनः बोलाउँदा उपस्थित हुने गरी पठाइएको सीआईबीले जनाएको छ।

त्रिविमा जारी नेपाल लिगमा म्याच फिक्सिङको सूचना बाहिर आएपछि अहिले सीआईबीले छानबिन गरिरहेको छ। खेलाडीहरुले नै फिक्सिङका लागि प्रस्ताव आएको खुलासा गरिसकेका छन्।

क्यानले लिग सञ्चालनको जिम्मा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससलाई दिएको छ। यो कम्पनीले भारतमा बेटिङ समेत खालाउने गरेको छ। त्रिविमा खेल सञ्चालन भइरहँदा पनि बेटिङ खेलाइरहेको अवस्थामा केही व्यक्ति पक्राउ परेका छन्।

सेभेन थ्री स्पोर्टसले लिगको सम्पुर्ण व्यवस्थापन, खेलाडी अनुबन्ध, टेलिभिजन प्रसारण प्रायोजक लगायत सबै व्यवस्थापनको जिम्मा पाएको छ। ग्लोबल टेण्डरबिनै लिग सुम्पिएको भन्दै क्यान सुरुदेखि नै बिबादमा परेको छ। लिग विवादमा परेपछि निर्देशक जटिन अहलुवालिया फरार भइसकेका छन्।

उनी फरार भएको क्यानले समेत चाल पाएको थिएन। खेलाडी प्रारिश्रमिक समेत नपाएपछि लिगमा थप बिबाद परेको छ। अख्तियारमा समेत खेलाडी विना अनुमति भित्र्याएको भन्दै उजुरी परेको छ। अख्तियारले पनि यस विषयमा अनुसन्धान गरिरहेको छ। अख्तियारले क्यानलाई पत्र पठाउँदै जवाफ मागिसकेको छ।

प्रक्रिया छल्दै लिग सञ्चालनको अनुमति दिएको भन्दै सर्वोच्चमा समेत रिट परेको छ। सर्वोच्चमा मुद्दा विचाराधिन छ।

Tags :

प्रकाशित: २१ पुष २०७९, बिहीबार १६:२३