काठमाडौं। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ का वडा अध्यक्ष बहादुरसिंह महराले पदबाट राजीनामा दिएका छन्।
जनचाहना र जनभावनाविपरीतका कार्यहरू भइरहेको र किनाराको साक्षी बस्दा जनमतको अपमान हुने भन्दै उनले पदबाट राजीनामा दिएका हुन्।
शुक्लाफाँटा नगरपालिकाको १२औं नगर अधिवेशनमा मेयर रणबहादुर महरालाई उनले राजीनामापत्र बुझाएका छन्।
वैशाख ३० मा सम्पन्न स्थानीय तह चुनावमा उनी नेकपा माओवादी केन्द्रका तर्फबाट दोस्रो पटक वडा अध्यक्षमा निर्वाचित भएका थिए।
महराले माओवादी केन्द्रसमेत परित्याग गरेका छन् । नगर कमिटी अध्यक्षलाई उनले पार्टी परित्यागको पत्र पठाएका हुन् । उनी माओवादी छाडेर आजै नेकपा बहुमतमा प्रवेश गरेको सो पार्टीले जनाएको छ।
प्रकाशित: २२ पुष २०७९, शुक्रबार १६:२३