काठमाडौं। विराटनगरसँग तीन रनले पराजित हुँदै फार वेस्ट यूनाइटेड जारी नेपाल टी–२० लिगबाट बाहिरिएको छ।
जारी प्रतियोगितामा नवौं खेल खेलेको फारवेस्टल दुई जित मात्रै निकाल्न सक्यो। फारवेस्टलाई हराएसँगै विराटनगरले प्लेअफ सम्भावनालाई कायम राखेको छ ।
शनिबार हुने लिग चरणको अन्तिम खेलमा काठमाडौं नाइट्सलाई पराजित गरे विराटनगर प्लेअफ पुग्नेछ।
९ खेलमा काठमाडौंसँग समान ४ जित र पाँच हारको नतिजासहित ८ अंक बनाएको विराटनगरले यदि उक्त खेलमा हार बेहोरे प्लेअफमा पुग्न पोखरा एभेन्जर्स र फारवस्टबीचको नतिजामा निर्भर रहनुपर्नेछ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४८ रनको लक्ष्य फारवेस्ट सामु प्रस्तुत गरेको थियो । फारवेस्टले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४४ रन मात्रै बनाउन सक्यो।
फारवेस्टका लागि ओपनिङमा आएका कप्तान हर्शमतुल्लाह साहिदीले सर्वाधिक ५८ रन योगदान गरे । उनले ४६ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गरे। विनोद भण्डारीले १० रन योगदान गर्दा नुुर अहमद १० रनमा आउट हुँदा उमेर अलीले २३ रन योगदान गरे । त्योबाहेक फारवेस्टका अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
विराटनगरको बलिङमा राज ननन्ले ४ ओभरमा ३२ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए। शूर्य तामाङ दुई विकेट लिँदा कियोन जोसेफ र नन्दन यादवले समान एक विकेट लिए।
पहिला ब्याटिङ गरेको विराटनगरका हुसेन टलतले अर्धसतकिय इनिङ खेले । उनले २९ बलमा ५ चौका र २ छक्काको मद्दत लिँदै सर्वाधिक ५० रन जोडे। कप्तान रोहित पौडेलले २१ रन र अर्जुन साउद २२ रनमा आउट हुँदा विवेक यादव ३५ रनमा अविजित रहे ।
फारवेप्टका उमार अलीले ४ ओभरमा १५ रन खर्चिएर दुई विकेट लिए । करण केसी र दुर्गेश गुप्ताल् एक/एक विकेट लिए ।
शनिबार हुने लिग चरणको अन्तिम खेलमा विराटनगरले काठमाडौं नाइट्ससँग र फारवेस्टले पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछन्।
प्रकाशित: २२ पुष २०७९, शुक्रबार १७:०२