काठमाडौं। सत्तारूढ गठबन्धनले न्यूनतम साझा कार्यक्रम तयार पारेको छ।
शुक्रबार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलको बैठकले न्यूनतम साझा कार्यक्रम तयार पारेको हो। कार्यक्रमकाे अन्तिम मस्यौदा भोलि (शनिबार) छलफलका लागि शीर्ष नेताहरूलाई बुझाइँदै छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता तथा कार्यदल सदस्य मुकुल ढकालले कार्यक्रम १३ पृष्ठ लामो भएको जानकारी दिए। उनले प्रतिवेदनमा शिक्षा, स्वास्थ्य, प्रविधिलगायत विभिन्न विषय समेटिएको बताए। प्रवक्ता ढकालले भने, ‘यसमा सुशासन, भ्रष्टाचार नियन्त्रण, संविधान कार्यान्वयन, पुराना ऐन तथा कानुनलाई संशोधन गर्नेलगायतका विषय समावेश गरिएका छन् ।’
उनले अगाडि भने, ‘हामीले मस्यौदा बुझाएका छौँ । त्यो अब शीर्ष नेताहरूले छलफल गरेर पारित गर्नुहुनेछ ।’
त्यस्तै, कार्यक्रममा पुस २७ गते पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने प्रस्ताव पनि गरिएकाे छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री तथा कार्यदल सदस्य धवल शमशेर राणाले पुस २७ गतेलाई पृथ्वी जयन्तीका रूपमा मनाउने र सार्वजनिक बिदा दिने कुरा समेटिएकाे पुष्टि गरे ।
सरकारले न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल बनाएको थियो । उक्त कार्यदलमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन, रास्वपाका ढकाल र राप्रपाका राणा, रकम चेम्जोङ रहेका छन् ।
प्रकाशित: २२ पुष २०७९, शुक्रबार १७:३०