काठमाडाैं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राप्रपालाई प्रधानमन्त्रीको अफर गरेको हल्ला नजाने गाउँको बाटो जस्तै भएको टिप्पणी गरेका छन्।
पार्टी सभापति शेरबहादुर देउवासँगको भेटवार्तापछि उनले कुनै पार्टीका सभापतिलाई प्रधानमन्त्रीको अफर नगरेको समेत बताए।
उनले गठबन्धन टुटेपछि नयाँ ढंगबाट जानुपर्ने विषयमा पार्टी सभापतिसँग छलफल भएको बताए ।
उनले भने, ‘पार्टी केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बस्दैछ। त्यसबारेमा छलफल भयौं। गठबन्धन अहिले दुर्घटनामा पर्न हुँदैनथ्यो। अन्तिम समयमा हामी पनि सहभागी हुनुपर्थ्यो। त्यसमा हामीले पनि पर्याप्त हस्तक्षेप गर्न सकेनौँ भनेर आत्मालोचित छौँ। दुर्घटना नभएर सेफ ल्याण्डिङ भए पाइलटको प्रशंसा हुन्छ। तर, दुर्घटना भयो भने कोपाइलटलाई दोष दिन मिल्दैन। महामन्त्री भनेको पार्टीको कोपाइलट हौं।’
फेरि पनि पार्टीलाई अगाडि लगाउन सभापति र महामन्त्रीहरुबीच छलफल भएको बताए। भोलि बस्ने संसदीय दल, प्रतिनिधि सभा र पार्टी केन्द्रीय समितिको बैठकको बारे छलफल भएको बताए।
उनले भने, ‘पार्टीभित्र सभापति र महामन्त्रीहरुको बारेमा केन्द्रीय समितिमा प्रश्न उठ्ला। तर, त्यही आत्मलोचना गरेर अघि बढ्छौँ।’
प्रकाशित: २२ पुष २०७९, शुक्रबार १८:२०