काठमाडौं। माओवादी केन्द्र र डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एकीकरण हुने भएको छ। छिट्टै पार्टी एकीकरण हुने विषयमा माओवादी केन्द्रका अध्यक्ष र नेसपाका अध्यक्ष भट्टराईबीच शनिबार प्रधानमन्त्री निवास बालुवाटरमा झन्डै १ घण्टा छलफल भएको छ। दुई पार्टीबीचमा एकता गर्नेबारेमा अध्यक्ष प्रचण्ड र भट्टराईबीच छलफल भएको नेसपाका नेता गंगा श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । नेता श्रेष्ठले भने– ‘पार्टी एकता छिट्टै गर्ने विषयमा दुई अध्यक्षबीच छलफल भएको छ । यस्तै संसदमा विश्वासको मत लिने र अन्य समसामयिक विषयमा छलफल भएको हो।
शनिवार दिउँसो माओवादी केन्द्रको पदाधिकारी बैठकमा पार्टी एकताको प्रस्ताव गर्ने र आइतबार बस्ने नेसपाको राजनीतिक समितिको बैठकमा प्रस्ताव गरेर ती बैठकबाट पार्टी एकतालाई मूर्त रुप दिएर जाने सहमति भएको नेता श्रेष्ठले बताए। अलि छिट्टै पार्टी एकता गर्ने दुवै अध्यक्षको चाहना रहेको उनको भनाई छ । एकतापछिको पार्टीमा अध्यक्ष भट्टराईको स्थान कुन रहन्छ भन्नेबारेमा अहिले निर्क्यौल नगरेको भोली एकता हुने बेलामा तय गरिने भएको छ।
एकतापछिको पार्टीको नाम के राख्नुपर्छ भनेर नेसपाको तर्फबाट प्रस्ताव गरेपनि पछि छलफलबाट टुङ्गो लाग्ने र पार्टी एकताका लागि एउटा कार्यदल बन्न सक्ने नेता श्रेष्ठको भनाई छ । यस्तै समाजवादी धारका सबै दलसँग पार्टी एकताका विषयमा छलफल गरेर जाने सहमति भएको युवा नेता विश्वदीप पाण्डेले बताए । पार्टी एकता गरेर जाने कुरामा दुवै अध्यक्षबीच सकारात्मक ढंगले कुरा भएको उनले बताए । अन्य दलसँग एकता प्रक्रिया अघि नबढेपनि नेसपा र माओवादीबीच एकता गरेर जाने निश्चित भएको नेता पाण्डको भनाई छ।
शनिवार बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग नेसपाका अध्यक्ष बाबुराम भट्टराई नेताहरु गंगा श्रेष्ठ र विश्वदीप पाण्डे सहभागी भएका थिए । नयाँ संविधान जारीपछि माओवादी केन्द्र छोडेर डा.भट्टराईले २०७३ जेठ ३० गते दशरथ रंगशालामा सभा गरेर नयाँ शक्ति पार्टीको घोषणा गरेका थिए ।
२०७६ साल बैशाख २१ गते उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र डा.भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकता भएर समाजवादी पार्टी नेपाल बनेको थियो । २०७९ असारमा उपेन्द्र यादवसँगपनि छुट्टिएर भट्टराइले नेपाल समाजवादी पार्टी गठन गरेका थिए।
प्रकाशित: २३ पुष २०७९, शनिबार १३:१०