काठमाडौं। तुइनबाट महाकाली नदीमा खसेर दार्चुलामा एक बालक बेपत्ता भएका छन्।
ब्यास गाउँपालिका वडा नम्बर ४ डोकट गाउँ नजिकै महाकाली नदीमा रहेको तुइनबाट १० वर्षीय बालक दीपेन्द्र विष्ट खसेका हुन्।
यो घटना गत बिहीबार (पुस २१) गतेको भए पनि ढिला गरी सार्वजनिक भएको छ। प्रहरीले आफूहरूलाई घटनाबारे ढिला जानकारी आएको बताएको छ।
ती बालक ब्यास गाउँपालिका वडा नम्बर ४ को खाल्नगर गाउँका हुन्। ब्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले तुइनबाट खसेका बालक बेपत्ता रहेको र खोजी कार्य जारी रहेको बताए।
‘उनकी आमा खर काट्न तुइन तरेर पारि (भारतीय भूमितर्फ) गएकी रहिछन्। आमालाई पछ्याउँदै गएका बालक तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता छन्,’ उनले भने, ‘बिहीबारदेखि नै उनको खोजी भइरहेको छ।’
ती बालक कक्षा ४ मा पढ्ने बताइएको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी गोविन्दप्रसाद भण्डारीले महाकालीमा बेपत्ता बालकको खोजी जारी रहेको बताए।
‘तुइनबाट महाकालीमा बालक खसेकोबारे सामाजिक सञ्जालमा लेखेको देखेपछि शनिबार हामीले घटनाबारे बुझ्न बालकको घर नै पुगियो। उनकी आमासँग बुझ्दा बालक तुइनबाट महाकाली नदीमा खसेको थाहा भयो,’ प्रहरी निरीक्षक भण्डारीले भने, ‘त्यो गाउँमा फोन नटिप्ने रहेछ, त्यसैले प्रहरीलाई खबर आएन।’
उनले बेपत्ता बालकको खोजीमा स्थानीयहरू र प्रहरी टोली परिचालन गरिएको जानकारी दिए।
प्रकाशित: २४ पुष २०७९, आईतवार ०९:२८