काठमाडौं। सेनाका उपरथी प्रेम प्रकाश शाहीमाथि छानविन गर्न कोर्ट अफ इन्क्वाइरी गठन गरिएको छ।
प्रधान सेनापति प्रभुराम शर्माले ‘कोर्ट अफ इन्क्वाइरी’ गठन गरेका हुन्। उपरथी बाबुराम श्रेष्ठको नेतृत्वमा कोर्ट अर्फ इन्क्वाइरी गठन गरिएको नेपाली सेनाका एक उच्च अधिकारीले बताए। इक्वाइरी टिमका संयोजक श्रेष्ठ सेनामा प्रेम शाही भन्दा जुनियर हुन्।
पुस १९ मा शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको थियो। शाहीलाई अहिले भद्रकालीस्थित सैनिक प्रहरी गणको हिरासतमा राखिएको छ।
बुढानिलकण्ठ नगरपालिकास्थित चपलीमा रहेको उनको घरमा सेनाले पुस २१ मा छापा मारेको थियो। पारिवारिक स्रोतकाअनुसार दिउँसो ३ देखि राति ९ बजेसम्म सैनिक प्रहरीले छापा मारेर महत्वपुर्ण कागजात र ल्यापटप लगेका छन्।
पुष २० मा अवकासमा जान लागेका शाही विदामा बसिसकेका थिए । शाहीले पुस ७ मात्र सर्वोच्चमा आफ्नो जन्ममिति २०२३ पुस २२ लाई कायम गर्न माग गर्दै रिट दायर गरेका थिए ।
प्रधानसेनापति प्रभुराम शर्माको आदेशमा उनलाई सैनिक ब्यारेकमा बस्ने गरी पक्राउ गरिएको सैनिक स्रोतले बतायो ।
सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयांलको एकल इजलासले सेना र रक्षा मन्त्रलायका नाममा कारण देखाऊ आदेश गरी गर्दै शाहीको निवेदनअनुसार नै फैसला गरेपछि उनले थप एक वर्ष जागिर खान सक्ने अवस्था थियो ।
शाहीको चारित्रिक प्रमाणपत्रमा २०२२ पुस २० गते थियो भने प्रमाणपत्रमा २०२३ पुस २० गते थियो । सेनाको अभिलेखालयमा २०२२ पुस २० भएकाले १५ दिनअघि नै सेनाले उनलाई अवकाशको पत्र थमाएको हो । उपरथी शाही सेनाको पत्रअनुसार विदामा बसेका थिए । तर, सर्वोच्चको पत्रपछि उनि सैनिक मुख्यालय फर्कन खोज्दा सेनाले उनलाई पक्राउ गरेको हो ।
शाही तत्कालिन प्रधानसेनापति पूर्णचन्द्र थापा निकट थिए । उनले थापाकै बलमा सेनामा धेरै लाभ लिएको आरोप थियो । त्यतिमात्र होईन उनले शक्तिको दुरुपयोग गरेर आफ्ना विरोधी सैनिक अधिकारीहरुप्रति पूर्वाग्रह सांधेको आरोप समेत छ ।
सैनिक प्रवक्ता सहायकरथी कृष्ण भण्डारीले उपरथीबाट अवकास पाएका शाहीको हकमा उजुरी परेकाले अनुसन्धान गर्नको लागि सैनिक ब्यारेकमा बस्न भनिएको जानकारी दिए । उनले शाही सेवामा हुंदा उनका बारेमा उजुरी परेकाले छानविनका लागि सैनिक मुख्यालयभित्रै बस्न भनिएको बताए ।
प्रकाशित: २४ पुष २०७९, आईतवार १२:१७