काठमाडौं। सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकले कर्णालीमा माओवादीको नेतृत्वमा सरकार गठन गर्ने निर्णयसँगै एमाले नेता यमलाल कँडेलको मुख्यमन्त्री बन्ने सपनामा पुन: ‘ब्रेक’ लागेको छ।
कँडेलको मुख्यमन्त्रीका लागि यो चौथो प्रयास हो। ०५५ सालमा नै गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पर्यटन मन्त्री भइसकेका कँडेल मुख्यमन्त्री बन्ने उद्देश्यसहित ०७४ मा प्रदेश झरेका थिए। तर त्यो बेला एमाले–माओवादीबीचको समीकरणले नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाही मुख्यमन्त्री बने। २० सिट जितेको एमालेसँग बहुमतका लागि १ सिट अपुग थियो। ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउन २१ सिट आवश्यक थियो। केन्द्रबाट नै कर्णाली माओवादीको भागमा पर्दा कँडेलसामु महेन्द्रलाई स्वीकार्नु बाहेक विकल्प थिएन। ३ फागुन ०७४ मा माओवादी संसदीय दलको नेता महेन्द्रबहादुर शाही मुख्यमन्त्रीमा नियुक्त भए । पछि एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि कँडेलले मुख्यमन्त्री आलोपालो हुनुपर्ने भनेका थिए, तर त्यसो हुन सकेन।
२४ असोज ०७७ मा मुख्यमन्त्री शाही विरुद्ध कँडेलले अविश्वासको प्रस्ताव ल्याए, सफल हुन् सकेनन् । त्यो बेला कँडेलले पूर्व माओवादी सांसद धर्मराज रेग्मी, ठम्मर विष्ट, पुष्पा घर्तीको समेत हस्ताक्षर सङ्कलन गरेका थिए।
२३ फागुन ०७७ मा सर्वोच्च अदालते एमाले र माओवादी केन्द्र ब्युँताएपछि पुनः १ वैशाख ०७८ मा महेन्द्रबहादुर शाही नेतृत्वको सरकार विरुद्ध दोस्रो पटक अविश्वासको प्रस्ताव ल्याए,कँडेलले । तर तत्कालिन माधव नेपाल समूहका प्रकाश ज्वाला लगायतका चार जनाले एमालेमा विद्रोह गरेपछि तेस्रो पटक पनि उनको मुख्यमन्त्री बन्ने सपनमा तुहियो।
प्रत्यक्षमा १ सिट जितेको कांग्रेसले सरकारको नेतृत्व गने अवसर पाउँदा समेत कँडेल प्रतिपक्षको कुर्सीमा बस्न विवश भए । एक वर्ष भन्दा बढीको समय प्रतिपक्षको भूमिका निर्वाह गरेका कँडेल पुनः मुख्यमन्त्री बन्ने दिवा सपनासहित ०७९ को आम निर्वाचनमा प्रदेशमै बसे । आफू भन्दा जुनियर नेतालाई प्रतिनिधि सभामा पठाएर प्रदेश सभामै चुनाव लडेका उनी नेपाली कांग्रेसका कालीप्रसाद शाक्यलाई पराजित गर्दै विजयी भए।
१८ कार्तिकमा कँडेलले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै कर्णालीको भावी मुख्यमन्त्रीमा आफूलाई प्रस्तुत गरिसकेका थिए । कँडेलले ‘समृद्ध कर्णाली’ को परिकल्पनालाई साकार पार्न आफ्नो उम्मेदवारी रहेको बताएका थिए । उनको घोषणा पत्रको सार थियो,‘ एमालेको नेतृत्वमा कर्णाली प्रदेश सरकार र मुख्यमन्त्रीमा यामलाल कँडेल ।’ तर मुख्यमन्त्री बन्नेमा ढुक्क भने थिएनन् । किनभने त्यो बेलाको सत्तारुढ गठबन्धनले अबको १०/१५ वर्षसम्म गठबन्धन नटुट्ने बताएको थियो । तथापि कँडेले मुख्यमन्त्रीमा चर्चा हुनु स्वाभाविक नै हो भन्दै आएका पनि थिए।
१० पुसमा राष्ट्रिय राजनीतिमा फेरिएको समीकरणले कँडेललाई आशाको दियो जगाइदियो । कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने लाइनबाट ‘रिङ आउट’ हुँदा कँडेल त्यो लाइनमा भित्रिए । त्यसपछि कँडेलको विश्वास ह्वात्तै बढिरहेको थियो । १३ पुसमा उनी संसदीय दलको नेतामा समेत सर्वसम्मत भए । स्थायी कमिटी सदस्य र प्रदेश इञ्चार्ज समेत भएकाले प्रदेश अध्यक्ष विनोद कुमार शाह उनीसँग प्रतिस्पर्धा गर्नबाट ‘ब्याक’ भए । शाह बालकोटको निर्देशन पछि ‘ब्याक’ भएका थिए । त्यसपछि धेरैको अपेक्षा र आकलन के थियो भने ‘मुख्यमन्त्री बन्न निकै सङ्घर्ष गर्दा पनि नबन्न सकेकाले यो पटक यामलाल नै भावी मुख्यमन्त्री ।’
संसदीय दल नेता चुनिने दिनमा पत्रकारसँग उनले भनेका थिए,‘ हाम्रो मुख्यमन्त्रीमा हिजो पनि दाबी थियो नै आज पनि हुन्छ नै । हामीले त्यही कुरा पार्टी केन्द्रलाई भनिसकेका छौँ र भन्ने पनि छौँ ।’
प्रकाशित: २५ पुष २०७९, सोमबार ०८:५५