ब्राजिलमा राष्ट्रपति भवन,संसद र सर्वोच्च अदालतमा आक्रमण



ब्राजिल। ब्राजिलमा चुनाव हारेका पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले वितण्डा मच्याएका छन् । उग्र समर्थकहरुले राष्ट्रपति भवन, संसद र सर्वोच्च अदालतमा छिरेर तोडफोड र आजगनी गरेका बीबीसीले जनाएको छ । सार्वजनिक भएका भिडियोहरुलमा प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्री निवास कब्जा गर्न कोसिस गरेका छन् । सर्वोच्च अदालतका सिसा फोडेका दृष्य पनि देखिएका छन् ।

अक्टोबरमा भएको चुनावमा वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भासँग बोल्सोनारो पराजित भएका थिए । लामो समय चुनावी परिणाम अस्वीकार गरेका उनी सर्वोच्चले चुनावलाई वैध ठहर गरेसँगै अमेरिका गएका थिए । उनी सत्ता हस्तान्तरण समारोहमा पनि सहभागि भएनन् । अहिले उनै पराजित बोल्सोनारोका समर्थकले राजधानीमा हंगामा मच्याएका हुन्।

राष्ट्रपति लुलाले यो खालको गतिविधि आतंककारी गतिविधि भएकाले संलग्नहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन्। प्रहरीले अनुसन्धार गरिरहेको छ । केही अन्तर्राष्ट्रिय मिडियाहरूले बोल्सोनारोका समर्थकहरू ब्राजिलको सभामुखको कुर्सीमा बसिरहेको देखाएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेन र विदेशमन्त्री एन्टोनी ब्लिन्केनले ब्राजिलको राष्ट्रपति भवन, संसद भवन र सर्वोच्च अदालतमा भएको आक्रमणको निन्दा गरेका छन् ।

राष्ट्रपति बाइडेनले भने, ‘ब्राजिलमा प्रजातन्त्रमाथि भएको आक्रमणको म निन्दा गर्दछु । ब्राजिलका प्रजातान्त्रिक संस्थाहरूलाई हाम्रो पूर्ण समर्थन छ र उनीहरूको इच्छालाई कमजोर पार्नु हुँदैन । म ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग काम गर्न जारी राख्न तत्पर छु ।’

Tags :

प्रकाशित: २५ पुष २०७९, सोमबार ०९:२९