गुजरातबाट टीकापुर आइरहेको बस दुर्घटना : चार जनाको मृत्यु, १४ घाइते



काठमाडौं। भारतको गुजरातबाट कैलालीको टीकापुरका लागि हिँडेको बस लखनउमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

लखनउबाट करिब ३० किलोमिटर दुरीमा भएको उक्त घटनाका एक प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा टीकापुर नगरपालिका- १ का नयाँबस्तीका चन्द्रबहादुर साउँद, ज्योतिनगरका ललित साउँद रहेका छन्। बसका चालक तथा एक महिलाको भने सनाखत हुने सकेको छैन।

६६ यात्रु सवार रहेको बसमा १४ जना घाइते भएका छन्। जसमध्ये ३ जना गम्भीर छन्। घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। उनीहरु भारतका विभिन्न शहरमा रोजगारी गरेर घर फर्किरहेका थिए।

बसलाई दुईतर्फबाट अन्य दुईवटा बसले ठक्कर दिएको बताइएको छ। भारतको गुजरात, सुरतलगायतका क्षेत्रबाट नेपालीहरु मात्रै ओहोरदोहोर गर्न मिल्ने गरी बस सेवा सञ्चालन हुँदै आएको छ।

Tags :

प्रकाशित: २५ पुष २०७९, सोमबार १०:५५